प्रदेश राजधानीका लागि ५० विघा जग्गा दिने विराटनगर महानगरको घोषणा

प्रदेश राजधानीका लागि ५० विघा जग्गा दिने विराटनगर महानगरको घोषणा

केन्द्रबिन्दु
0
Shares

विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश राजधानी बनाउन ५० विगाह जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश सरकारको स्थायी संरचना निर्माण गर्न महानगरले ५० विगाह जग्गा उपलब्ध गराउने घोषणा गरेको हो । प्रदेश सरकारले स्थायी राजधानी घोषणाको तयारी गरिरहेको बेला तत्काल जग्गा उपलब्ध गराउन महानगरपालिका तयार भएको हो ।

सरकार गठन भएको करिब डेढ वर्षसम्म पनि प्रदेश राजधानी र नाम तोक्न नसकिएको बेला महानगरले यस्तो घोषणा गरेको हो । सत्तारुढ नेकपाले विराटनगरलाई केन्द्र बनाएर बृहत बिराट क्षेत्रलाई राजधानी बनाउने निर्णय गरेको थियो । नेकपाको बैठकले विराटनगरसहित इटहरी र गोठगाउँमा प्रादेशिक संरचना निर्माण गर्ने सहमति गरेको छ । तर प्रदेशको नाममा भने सहमति जुटेको छैन् ।

नेकपाले राजधानी विकेन्द्रीकरणको तयारी गरेपछि महानगरपालिकाले ५० बिगाह जमिन प्रदेश सरकारलाई उपलव्ध गराउने निर्णय लिएको मेयर भीम पराजुलीले जानकारी दिए ।

तत्काललाई विराटनगर– १६ मा रहेको विराटनगर जुट मिलको स्वामित्वमा रहेको सरकारी जग्गा, नेशनल ट्रेडिङको करिब ७ विगाह, कोशी प्रोजेक्टमा रहेको १२ विगाह, विराटनगर–५ कोचाखालामा रहेको ५ विगाह, विराटनगर–१९ मा रहेको ६ विगाह सरकारी जग्गा र ल्याण्ड पुलिङ गर्दा प्राप्त हुने जग्गा गरी ५० विगाह उपलब्ध गराउने मेयर पराजुलीले बताए । महानगरले विराटनगर १९ मा ल्याण्ड पुलिङ गरी व्यवस्थित सहरी विकासको योजना अघि सारेको छ ।

यसअघि प्रदेश सभाको भवन निर्माण गर्न बिराटनगर ७ स्थित हाटखोलामा अढाई बिगाहा जमिन दिने महानगरले घोषणा गरेको थियो ।

Skip This
Skip This
Logo