काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुष १ गते सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै पुष १ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
बैठक पछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शोक–प्रस्ताव पारित गरेर बैठक स्थगित भएको जानकारी दिए । शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी पुष १ गते बस्ने गरी स्थगित भएको प्रवक्ता श्रेष्ठले बताए ।
यसैबीच आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
लामाको बिहीबार निधन भएपछि सार्वजनिक भएको एक अडियो तथा भिडियो कुराकानीका आधारमा नारायणकाजीलाई मुछेर विभिन्न टिकाटिप्पणी हुँदै आएको छ । यस सम्बन्धमा आजको बैठकमा हाइड्रोपावरको व्यवसायिक विवादमा व्यक्तिलाई अनावश्यक नमुछ्न प्रचण्डले आग्रह गरिरहँदा बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने मौन बसेको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले जानकारी दिए ।
विशेष गरेर गुटगत राजनीतिको गन्ध आइरहेका बेला कमानसिंह प्रकरणले नेकपाभित्र त्यसलाई थप जटिल बनाएको देख्न सकिन्छ । जबकि, कमानसिंह प्रकरणकै कारण ओली समूहबाट श्रेष्ठमाथि हमला हुँदै आएको नेकपाकै नेता कार्यकर्ताले बताउँदै आएका छन् ।
यता, प्रवक्ता श्रेष्ठको राजीनामा माग्दै आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ । श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरूको नाममा बालुवाटारमा प्रदर्शन गरिएको हो । नेकपा नेता तथा संविधानसभा सदस्य कमानसिंह प्रकरणमा छानबिनको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन् ।





























प्रतिक्रिया