हावाहुरी पीडित बाराको फेटामा जनता आवासको शिलान्यास

हावाहुरी पीडित बाराको फेटामा जनता आवासको शिलान्यास

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले हावाहुरी पीडित जनताको घर निर्माण कार्यलाई प्राथमिकता दिएको बताएका छन् ।

चैत्र १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावितका लागि आवास निर्माण कार्ययोजनाको शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले पीडित जनताको आवास निर्माणमा नेपाली सेनाले कुनै कमी राख्न नहुने बताएका छन् ।

एकैसाथ बारा र पर्साका १२ ठाउँमा सो आवासको शिलान्यास गरिएको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शिलान्यास कार्यक्रम हुने भनिए पनि विशेष कारणले प्रधानमन्त्री आउन नसक्नु भएको जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले प्रारम्भ गरिएको जनता आवासमा कुनै किसिमको ढिलाइ नगरी वर्षा अगाडि नै आवास निर्माण गर्न सेनालाई निर्देशन दिएका छन् ।

सो आवास निर्माण गर्दा केही समस्या आए प्रदेश र स्थानीय सरकार मिलेर समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले सेनाले निर्माण गर्ने जनता आवास कार्यक्रममा स्थानीय, प्रदेश सरकारसहित सबैको सहयोग रहने बताए ।

उनले हावाहुरी प्रभावित परिवारलाई घर बनाउँदा जग्गाको अभाव भए प्रक्रियागत रुपमा ऐलानी र प्रति जग्गा उपलब्ध गर्नसमेत निर्देशन दिए । उपप्रधानमन्त्री पोखरेलले सबै मिलेर एकताबद्ध भई आपत्विपत्मा परेका जनताको समस्या समाधान गर्न सबै एक हुनुपर्ने बताए ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतले हावाहुरी प्रभावित परिवारको लागि संघीय सरकारले गरेको काम स्वागतयोग्य रहेको बताए ।

कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानीमन्त्री बिना मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा लगायतको उपस्थित रहेको थियो ।

Logo