काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच हुन लागेको पार्टी एकीकरणमा राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि चासो देखाएको छ । नयाँ शक्ति र फोरम पार्टी एकताको अन्तिम गृहकार्यमा छन् । उनीहरुबीच यहि २३ गते पार्टी एकता गर्ने समझदारी बनेको छ । त्यसको लागी यतिबेला दुई पार्टीका शीर्ष नेताहरु छलफलमा ब्यस्त छन् । उनीहरुले बिहीबार पनि छलफल गरेका छन् । उक्त छलफलमा राजपा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सहभागि भएका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी कार्यालयमा एकीकरणकै लागि भटराई, राजपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो, फोरम अध्यक्ष उपेन्द्र यादव र जनमुक्ति पार्टीका नेताबीच छलफल भएको हो ।
फोरम र नयाँ शक्तिको बीचमा एकीकरणमा मोटामोटी सहमति भएलगत्तै राजपा र जनमुक्ति पार्टी पनि सहभागी भएको नयाँ शक्ति पार्टीका नेताहरुले बताएका छन् । बिहीबारको छलफलपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई सबै पार्टीको एकीकरण गर्नेगरी खाका तयार पार्ने जिम्मा दिइएको छ ।
संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको दुई पार्टीका नेताहरुबीच सहमति जुटेको छ । तर थप दुई पार्टीले पनि एकता प्रक्रियामा सहभागीता जनाउने भएपछि थप गृहकार्य गर्न भट्टराईलाई जिम्मा दिएका हुन् ।





























प्रतिक्रिया