काठमाडौं । प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले पर्याप्त साधन स्रोतको अभावले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्ने नसकिएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए।
नेकपा (एमाले) का सचिव समेत रहेका सांसद भट्टराईले विगत केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकैपरिवारका चार जनाको मृत्यु भएको र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरे। पहिरो परी सो गाउँपालिकाका उपाध्यक्ष विकास लिम्बूको परिवारका चार जनाको निधन भएको थियो।
पहिरोबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराए। “हामीले विपद् प्राधिकरण बनाएका छौँ। पर्याप्त साधन स्रोतको अभावले समयमै उद्धार गर्ने सकिएको छैन्। अब प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेका पहाडी र हिमाली क्षेत्रमा एकीकृत बस्ती विकासमा जानुपर्छ”, उनले भने।
यसैगरी सांसद लीला बोखिमले पनि ताप्लेजुङको फक्ताङलुङ–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरे। घट्नामा ठूलो जनधनको क्षतिका साथै पहिरोले सडक अवरुद्ध भएकाले आपत्कालीन अवस्थामा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सरकारसँग माग गरे। “काठको पुल भत्किएको छ। पशुचौपाया मरेका छन्। बाटो अवरुद्ध छ। तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गर्दछु”, उनले भने।
सांसद विजुला रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–७ का ३१ वर्षीय बाबुराम घर्तीको पाल्पामा जनसेवा गर्दागर्दै करेन्ट लागेर निधन भएको घटनापति दुःख व्यक्त गरे। उनले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे। सेवामूलक कामका सिलसिलामा निधन भएकाका परिवारलाई स्पष्ट नीति बनाएर क्षतिपूर्ति दिनसमेत उनले माग गरे।





























प्रतिक्रिया