राजिनामा पत्र बोकेर हिँडेका छन् खेलकुदमन्त्री

राजिनामा पत्र बोकेर हिँडेका छन् खेलकुदमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले अनावश्यक सम्झौता गर्न परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन तयार रहेको बताएका छन् ।

आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा खेलकुदमन्त्री श्रेष्ठले राजीनामा पत्र खल्तीमा बोकर हिँडेको भन्दै त्यस्तो अवस्था आए मिति मात्र लेखेर राजीनामा दिन तयार भएको बताएका हुन् ।

उनले भने, ‘अहिले जुन खालको अवस्था छ, केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ । त्यो तयार गरेर बोकेर नै हिँडेका छौं ।’

उनले सत्तामा पुरानो कर्मकाण्डी हिसाबले उपलब्धी नहुने गरि चलिरहेको भन्दै सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए । उनले भने, ‘शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा सबैले अनुभव गरिरहेका छौं । किनभन्दा हामीले सरकारको नेतृत्व गरिरहेका छौं र सत्ता पुरानो कर्मकाण्डी हिसाबले उपलब्धी नहुने गरि चलिरहेको हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौं । हामीले सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्नुपर्ने बेला पनि छ । साथै सत्ता साझेदार दलहरुले पनि यसलाई एकपटक समीक्षा पनि गर्ने र पुनरावलोकन पनि गर्ने कुराहरु पनि चल्न थालेको छ ।’

खेलकुदमन्त्री श्रेष्ठले खेलकुद क्षेत्रमा महत्वपूर्ण कामको रुपमा हिजो भर्खरै अर्थ मन्त्रालयबाट खेलाडीहरुको पुरस्कार रकम निकास भइसकेको भन्दै जानकारी पनि दिएका छन् । उनले भने, ‘खेलकुद क्षेत्रलाई व्यवस्थित गर्दैै लाने भन्ने कुरामा त्यसको क्यालेन्डर घोषणा भइसक्यो, अर्को महत्वपूर्ण कुरा भनेको खेलाडीहरुले आफ्नो पुरस्कार नपाएको भन्ने विषयले गर्दा खेलाडीहरुमा निराशा छाएको थियो, हिजो अर्थ मन्त्रालयबाट त्यो खेलाडीको पैसा निकास भइसकेको छ ।’

Logo