काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिए लगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ । नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ । केन्द्रीय कमिटीको एकतिहाइ रहनेगरी पोलिटब्युरो कमिटी गठन हुने विधानमा व्यवस्था छ । केन्द्रीय समिति ४ सय ४१ सदस्यीय छ । यी मध्येबाट १ सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुन सक्छ ।
नेकपाभित्र कम्तीमा दुईपटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट पोलिटब्युरो सदस्य चयन गर्ने तयारी छ । त्यसमा पनि बाहुन क्षेत्रीको हकमा तीन र महिला, दलित, जनजाति र मधेसीको हकमा दुई कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड लागू गर्ने सहमति नेताहरुले गरेका छन् । सो मापदण्ड अनुसार पोलिब्युरो गठन गर्दा केपी ओली समूहबाट ३८, पुष्पकमल दाहाल समूहबाट ४९, माधवकुमार नेपाल समूहबाट ३६, रामबहादुर थापा समूहबाट १०, वामदेव गौतम समूहबाट ७ र नारायणकाजी श्रेष्ठ समूहबाट ७ जना पर्नेछन् ।
पूर्व माओवादीका तर्फबाट केही सदस्य चयन हुन बाँकी रहेकाले थापा र श्रेष्ठ समूहमा केही सदस्य थपिने र दाहाल समूहबाट केही सदस्य घट्नसक्ने स्रोतले जनाएको छ । नेपाल समूहमा झलनाथ खनाललाई पनि समेटिएको छ भने ओली समूहमा ईश्वर पोखरेल समेटिएका छन् । खनालले आफ्नो छुट्टै समूह बनाएका छैनन् । उनी अहिले पार्टीभित्र नेपालले उठाएका मुद्दामा सहमत हुँदै आएका छन् । ‘दुई अध्यक्ष र वरिष्ठ नेताबीच पोलिटब्युरो गठनबारे सहमति भएको छ। नेपाल अमेरिकाबाट फर्के लगत्तै यसले पूर्णता पाउनेछ’, पार्टीनिकट उच्च स्रोतले भन्यो ।
नागरिकबाट





























प्रतिक्रिया