कोटेश्वर जामको विकल्प अन्डरपास

कोटेश्वर जामको विकल्प अन्डरपास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

ट्राफिक जामको पर्यायवाची भइसकेको छ, कोटेश्वर । सर्वसाधारण कोटेश्वरको जामले आजित छन् । जामका कारण यो बाटो प्रयोग गर्नेको दैनिकी बदलिँदो छ । कोटेश्वरस्थित कैलाश विकास बैंकमा काम गर्ने गठ्ठाघरकी नमिता काफ्ले कार्यालय समयभन्दा एक घण्टाअघि नै घरबाट निस्किन्छिन् । अढाई वर्षीय छोरीलाई साढे ८ बजे नै खाना खुवाएर घरबाट निस्कुनु पर्ने काफ्लेको भनाइ छ ।

‘गठ्ठाघरबाट कोटेश्वरको बाटो १० मिनेटको हो । जामपर्ने भएकाले छिट्टै निस्किन्छु’, काफ्लेले भनिन्, ‘जामका कारण छोरीसँग बिताउने समय छोटिएको छ ।’ बेलुका ५ बजे कार्यालय छुटे पनि घर पुग्दा साढे ६ बज्ने उनी बताउँछिन् । यस्तै ठिमीका उत्तम खत्री जमलको कार्यालय समय पुग्न घरबाट ढेड घण्टा अघि नै निस्किने बताउँछन् । ‘१० बजे कार्यालय पुग्नु पर्छ। छिट्टै घरबाट ननिस्कने हो भने समयमा पुग्न सकिन्न’, खत्रीले भने, ‘कार्यालय आउनजान मात्र ३ घण्टाभन्दा धेरै समय छुट्याउनुपर्छ।’ उनीहरू त प्रतिनिध पात्र मात्र हुन् ।

दुई लेनको कोटेश्वर–सूर्यविनाक ९.१४ किलोमिटर सडक २०६९ सालमा चार लेनमा स्तरोन्नति गरिएको थियो । साघुँरो सडक फराकिलो बन्दा जामको समस्या अन्त्य हुने धेरैको विश्वास थियो । तर सडक विस्तार भएको ७ वर्ष लाग्दै गर्दा सडक साँघुरो भइसकेको छ । सडकको सुविधासँगै भक्तपुरमा बसाइसर्नेको संख्या बढ्दो छ । २०७२ सालदेखि सञ्चालनमा आएको बीपी राजमार्गमा गुड्ने सवारी पनि यही सडक प्रयोग गर्छन् । यही रुटबाट काठमाडौंबाट पूर्वी पहाड र तराई जाने सवारी छुट्ने गर्छन् ।

सडकको क्षमताभन्दा सवारीको चाप धेरै भएकाले कोटेश्वर क्षेत्रमा जाम बढेको यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन् । यसअघि कलंकी क्षेत्रमा पनि यस्तै जाम हुने गरेको थियो । कोटेश्वर–कलंकीखण्ड विस्तार गर्दा त्यहाँको जाम न्यूनीकरण गर्न अन्डरपास निर्माण गरिएको थियो । अन्डरपासका कारण अहिले कलंकी चोकको जाम न्यूनीकरण गर्न धेरै सहयोग गरेको छ ।

जापानी सहयोग नियोग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मिलेर कोटेश्वर–जडीबुटीको जाम व्यवस्थापन गर्ने विषयमा पनि अध्ययन भइरहेको छ । मन्त्रालयका सहसचित मधुसूदन अधिकारीका अनुसार जाइकाले यो क्षेत्रको जाम न्यूनीकरण गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ। उनका अनुसार जाइकाले जाम हटाउन अन्डरपास र भायोडक्ट (सडक माथि पुल) निर्माण गर्न अध्ययन गरिरहेको छ । जाइकको प्रतिवेदन अनुसार कोटेश्वर चोकमा अन्डरपास र कोटेश्वरदेखि थापाथलिसम्म भायोडक्ट निर्माण गर्ने विकल्प अघि सारिएको छ ।

अन्नपूर्णबाट

Logo