काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रदेश नम्बर २ मा नेकपा नेतृत्वकै सरकार बन्ने संकेत गरेका छन् । नेकपामा प्रवेश गरेका मधेस-तराई फोरमका नेतारकार्यकर्तालाई मंगलबार पार्टीमा स्वागत गर्दै उनले प्रदेश २ मा नेकपा कै सरकार बन्ने संकेत गरेका हुन् । ‘हामीले चाहने र ठूलो पार्टी हुनुको नाताले चलखेल गर्ने हो भने अहिले पनि सरकार बन्न सक्छ,’ प्रचण्डले भने ।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ । मधेशमा अहिलेको सरकार ठिक ढंगले नचलेको उनको दाबी छ । ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन। मधेसी जनतको हित अनुकूल चलेको छैन,’ उनले भने।
प्रदेश २ मा कम्युनिष्ट पार्टीको सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुने उनले बताए। तर अहिलेकै सरकारले राम्रो काम गर्छ भन्ने सोचेर चलखेल नगरेको उनको भनाइ छ । प्रदेश २ मा भ्रष्टाचार र बेइमानी बढेको उनको आरोप छ।
‘उहाँहरुले बनाएको सरकारले राम्रो काम गरोस् हाम्रो साथ रहन्छ भनेकै हो,’ उनले भने, ‘यहाँसम्म आइपुग्दा जे देखियो झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी। योजना निर्माणमा व्यक्ति व्यक्तिको फोन नम्बर रेडबुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो।’
प्रदेश नम्बर २ मा यही स्थिति कायम राख्ने हो भने बीचैमा नेकपाले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आउने उनले बताए। ‘यही स्थिति हो भने हामीले बीचैमा सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ,’ उनले भने।





























प्रतिक्रिया