बजेट ल्याउने तयारीमा रहेको सरकारलाई नेकपाको यस्तो सुझाव

बजेट ल्याउने तयारीमा रहेको सरकारलाई नेकपाको यस्तो सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारालाई व्यवहारमा अनुवाद गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो । आगामी २० गते शुक्रबार नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने सरकारको तयारी छ ।

सोही नीति तथा कार्यक्रम ल्याउँदा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्नेगरी ल्याउन सरकारलाई सुझाव दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेताहरुले मूलतः संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समृद्धि, निर्वाचनमा बेला पार्टीले जारी गरेको घोषणा–पत्र र सरकारले हालसम्म गरेका सकारात्मक कामहरुको उपलब्धिहरुको रक्षा र विस्तार हुने कुरामा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

संघीय संसदको वर्षे अधिवेशन आजबाट सुरु हुँदैछ । आगामी शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी छ । त्यसपछि सरकारले सोही नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । संविधान अनुसार आगामी जेठ १५ गते सरकारले संघीय संसदमा बजेट पेश गर्नेछ ।

Logo