जकार्ता
दक्षिण पूर्वी एसियाली राष्ट्र इन्डोनेसियामा निर्वाचनका क्रममा अत्याधिक कामका कारण २ सय ७० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ । मृत्यु भएका मध्ये अधिकांशमा थकाई सम्बन्धि समस्याबाट पीडित भएको बताइएको छ ।
निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोले निर्वाचनमा खटिएका अन्य एक हजार ८ सय ७८ जना कर्मचारी विरामी गरेको जानकारी दिएका छन् । गत अप्रिल १७ मा इन्डोनेसियामा निर्वाचन भएको थियो ।
निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न करिब ७० लाख कर्मचारी खटिएका थिए । इन्डोनेसियामा हाल रहेको अत्याधिक गर्मीका समयमा कर्मचारीहरूले राति पनि काम गर्नु परेकाले धेरै कर्मचारी अस्वस्थ भएका थिए ।
इन्डोनेसियामा झन्डै २६ करोड जनसंख्या छ । धेरै जनसंख्या भएको इन्डोनेशियामा खर्च जोगाउन केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपति चयनका लागि एकै दिन निर्वाचन भएको थियो ।
इन्डोनेसियाको यो निर्वाचनमा १९ करोड ३० लाख योग्य मतदातामध्ये ८० प्रतिशतले ८ लाख मतदान केन्द्रमा पुगेर मतदानमा भाग लिएका थिए ।
एजेन्सी





























प्रतिक्रिया