काठमाडौं
यो वर्ष समयमा चिया बगानबाट हरियो पत्तिको पहिलो टिपाई (फस्ट फ्ल्स) नहुँदा समग्र तयारी चिया उत्पादनमा १५ प्रतिशतले गिरावट आएको छ । चिया मजदुरको हकमा सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक उद्योगीले दिन नमान्दा समग्र चिया खेतीमा ठूलो मूल्य बराबरको घाटा लागेको हो ।
श्रम मन्त्रालयले गत साउन १ गतेदेखि लागु हुने गरी चिया मजदूरको हकमा दैनिक न्युनतम पारिश्रमिक २७८ लाई वृद्धि गरी ३८५ रुपैयाँ तोकेको थियो । वृद्धि गरिएको उक्त पारिश्रमिक उद्योगीले दिन नसक्ने भन्दै अडान लिएपछि झापासहित अन्य स्थानका चिया मजदुर गतचैत १७ गतेदेखि यो वर्षको पहिलो टिपाई वहिष्कार गरी आन्दोलनमा छन् ।
आन्दोलनका कारण मुख्य गरी झापाको सम्पूर्ण बगान र प्रशोधन गर्ने उद्योगसमेत पूर्णरुपमा बन्द छन् । यो आन्दोलन झापासहित इलाम, पाँचथर र धनकुटामा भइरहेको छ । झापामा फागुनदेखि र पहाडी जिल्लामा चैत १५ देखि चियाको बोटमा पलाएको पहिलो नयाँ मुनाको टिपाई सुरु हुन्छ ।
चिया मजदुरहरुले सरकारले वृद्धि गरेको दैनिक न्युनतम पारिश्रमिक निशर्त पाउनुपर्ने माग राखेर गरेको आन्दोलनका कारण समग्र चिया खेतीदेखि प्रशोधन तथा बजारीकरणसम्म प्रभावित बनेको छ । मजदुर र उद्योगीबीचको आ–आफ्नो अडानका कारण यो बर्ष समग्र तयारी चियाको उत्पादनमा १५ प्रतिशतले नोक्सानी भएको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार मजदुरको आन्दोलनका कारण यो वर्ष १५ प्रतिशतका दरले करिब ३० लाख किलो (तीन हजार मेट्रिक टन) तयारी चियाको नोक्सानी भएको छ । उनका अनुसार प्रतिकिलो तयारी चियाको बजार मूल्य दुई सय रुपैयाँ पर्छ । समयमा चियाको पत्तिको पहिलो टिपाई नहुँदा ६० करोड मूल्य बराबरको ३० लाख किलो चियाको नोक्सान भएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया