काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले भ्रष्टाचार र अनियमितता मुलुक समृद्धिको बाधक भएकाले यसको नियन्त्रणका लागि सत्ता र प्रतिपक्षी दल सबै मिलेर लाग्नुपर्ने बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद सुवेदीले नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याललगायत विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको सम्बन्धमा कर्मचारीतन्त्रको सबभन्दा माथिको व्यक्ति नै मुछिनु दुःखद भएको बताए। उनले सुशासनका निम्ति भ्रष्टाचार तगारो रुपमा देखिएकाले सत्ता पक्ष र प्रतिपक्षी दल मिलेर यसका विरुद्ध लाग्नुपर्ने खाँचो औँल्याए। उनले अछाममा छाउगोठमा बसेकी एक किशोरी आफन्तबाट बलात्कृत भएको घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै छानबिन गरी कारबाहीको माग गरे।
नेपाली कांग्रेसका सांसद कमला पन्तले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै यसको नियन्त्रण गर्न राजनीतिक र प्रशासनिक दुवै तवरबाट लाग्नुपर्नेमा जोड दिए। उनले यी दुवै पक्षबीच समझदारी र समन्वय नभई भ्रष्टाचार हुन नसक्ने उल्लेख गर्दै यसका कारणहरु पत्ता लगाएर भ्रष्टाचार नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताए।
सांसद पन्तले मुख्यसचिव डा अर्याललगायत विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको घटना दुःखद भएको जिकिर गर्दै यसले सम्पूर्ण निजामती क्षेत्रको शिर निहुरिएको उल्लेख गरे। उद्दले नीतिगत भ्रष्टाचारको समेत अनुसन्धान गर्ने, सुनुवाइ गर्ने र मुद्दा समेत चलाउन सक्ने अधिकार सम्पन्न विधेयकको आवश्यकता औँल्याए।





























प्रतिक्रिया