कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गर्यो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको उपस्थितिमा भएको सो कार्यक्रममा स्थानीयवासीले प्रहरीसितका गुनासाभन्दा पनि दक्षिण क्षेत्रको विकास एवं लामो समयदेखि ओझेल परेको बेलौरी छोटी भन्सार स्तरोन्नतिसम्मका माग प्रमुख जिल्ला अधिकारीसमक्ष राखेका थिए।
“प्रतिनिधिसभा सदस्यदेखि नगरप्रमुखसम्मलाई ४० वर्षदेखि नबनेको सडकका विषय पटक–पटक आग्रह गर्दा पनि अझै कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्र भएन”, स्थानीय नागरिक अगुवा केशवराज जोशीले भने, “बेलौरी छोटी भन्सारको जग्गामा भएको झाडी सरसफाइ गर्दा हामीले वन मुद्दा खेप्नुपरेको पीडा छ।”
सडक नबन्दा बेलौरी बजार क्षेत्रकै सडक हिलाम्मे हुँदा स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ। उनले २०१९ सालमा स्थापना भएको छोटी भन्सार कैलाली भन्सार मातहत राखेर सञ्चालनमा ल्याइए पनि प्रधानमन्त्रीस्तरसम्म सो विषय उठान गर्दा दक्षिण क्षेत्रका नागरिकले आश्वासनमात्र पाएको बताए।
उहाँले जिल्ला सदरमुकाम जान छोटो पर्ने बेलौरी–कलुवापुर खण्ड चार दशकदेखि ठेक्का हुँदै आए पनि अझै कालोपत्र पूरा हुन नसकेको बताउनुभयो। इलाका प्रहरी कार्यालय बेलौरीको संयोजनमा भएको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीय प्रकाशराज पन्तले दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडकअन्तर्गत पचुई क्षेत्रमा भारतीय अवरोधले कालोपत्र हुन नसकेको बताए।





























प्रतिक्रिया