नेकपाले वैशाखभित्रै पोलिटब्युरो गठन गरिसक्ने

नेकपाले वैशाखभित्रै पोलिटब्युरो गठन गरिसक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वैशाखभित्रै पोटिब्यूरो गठन गरिसक्नेगरी तयारी थालेको छ । पोलिटब्युरो गठन, कार्य विभाजन र जनसंगठनको एकता टुंगो लगाउन नेताहरु छलफलमा जुटेका हुन् ।

आगामी सचिवालय बैठकबाट पोलिटब्युरो गठन हुने सम्भावना रहेको छ । वैशाखभित्रै पार्टी बैठक बसेर पोलिटब्युरो गठन गर्ने र नेताहरूको कार्य विभाजन टुंग्याउने काम सँगसँगै हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ नेता माधव नेपाल चीनबाट फर्केलगत्तै बस्ने सचिवालय बैठकले दुवै विषय टुंगो लगाउने उनको भनाई छ। चीन भ्रमणमा रहेका नेपाल १५ गते फर्कने कार्यक्रम छ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बालुवाटारमा पोलिटब्युरो गठनबारे छलफल भएको थियो ।

नेकपामा १४७ जनाको पोलिटब्युरो बनाउनेछ । पार्टी विधानको धारा १८ को (घ) को २ मा स्थायी कमिटीसहित केन्द्रीय कमिटीको कुल सदस्य संख्याको बढीमा एकतिहाई सदस्यको पोलिटब्युरो गठन गर्न सकिने व्यवस्था छ।

पार्टी एकता भएको ११ महिना बितिसक्दा पनि नेकपाले पोलिटब्युरो गठन गर्न सकेको छैन् । पार्टीको ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी समिति र ४४१ सदस्यीय केन्द्रीय समिति छ।

पोलिटब्युरोमा पूर्व एमालेबाट ८१ र पूर्व माओवादीका ६६ नेता राख्ने समझदारी नेताहरुबीच भएको छ । सोही समझदारी अनुरुप अबको सचिवालय बैठकले पोलिटव्यूरो सम्बन्धि सबै काम सकाउने भएको हो ।

Logo