काठमाडौ
सरकारले बारा र पर्साका हुरीपीडितका लागि साढे पाँच लाख रुपैयाँ बराबरका घर बनाउन सेनालाई जिम्मा दिएको छ । सेनाले पठाएको दुई विकल्पसहितको प्रस्तावबारे रक्षा मन्त्रालयले सहरी विकास मन्त्रालयसँग थप सुझाब लिएर मन्त्रिपरिषद्ले मंगलबार यो निर्णय गरेको हो । हुरीबाट घर पूर्ण क्षति भएका एक हजार चार सय ५३ घर निर्माणका लागि सरकारले सेनालाई जिम्मा दिइसकेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार सबै घर निर्माणका लागि करिब ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ सेनालाई उपलब्ध गराउने निर्णय भएको छ । सेनाले वर्षाभित्र घर निर्माणका लागि आवश्यकता अनुसार गैरसैनिक जनशक्ति पनि प्रयोग गर्ने तयारी गरेको छ ।
नेपाली सेनाले १२ वटा सामूहिक आवास निर्माण गर्नेछ । ‘प्रतिघर पाँच लाख ४५ हजार रुपैयाँमा बन्न सक्छ भन्ने प्राविधिक सुझाब रक्षा मन्त्रालयलाई दिएका छौँ,’ सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने । सेनाले आवास निर्माणका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
‘बारामा एक हजार तीन सय ६२ वटा र पर्सामा ९१ वटा घर बनाउने जिम्मा पाएका छौँ,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘सरकारले दिएको जिम्मेवारी अनुसार असारभित्रै घर बनाएर हस्तान्तरण गर्न सेना तयारी अवस्थामा छ ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया