काठमाडौं । स्टेट अफ ग्लोबल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ। हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा सो प्रतिवेदन सार्वजनिक गरेको हो।
स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ। सन् २०१९ मा करीब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो। वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८, ५०० मानिसको मृत्यु भएको तथ्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् २०१९ को प्रतिवेदनमा यो संख्या ४२ हजार १०० थियो।
विश्वभरी वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पिएम २.५ अर्थात धुलो धुँवामा मिसिएका विषाक्त वायुका कारण ५८ प्रतिशत, मृत्यु घरभित्रको प्रदूषणका कारण ३८ प्रतिशत र ओजोनको कारण ६ प्रतिशतको मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख गरिएको छ। विश्वभरी उच्च रक्क्तचापपछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको कुरा उल्लेख गरिएको छ। वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एशियाली र अफ्रिकन मुलुकहरु रहेका छन्।
संयुक्त राष्ट्र संघको साधारण सभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारको रुपमा स्वीकार गरेको छ। यसैगरी नेपालको संविधानको धारा ३० ले “स्वस्थ र स्वच्छ हावा” नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको छ। यद्यपि, यी प्रावधानहरूको कार्यान्वयन हुन सकेको छैन।
वायु प्रदूषणको मुख्य कारण मध्ये जिवाष्म इन्धन र जैविक इन्धनको अधिकतम प्रयोग हुन्। यी बाहेक खुल्ला फोहोर बाल्ने, फोहोरको व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन्।
वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी, महिला आदि बढी जोखिममा रहेका छन्। यसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ।
यसैबीच क्लीन एअर नेटवर्क नेपाल (क्यान)मा आवद्ध नेपालका विभिन्न संघ संस्थाले सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग एवं प्रदेश र स्थानीय सरकारहरुसँग ८ बुँदे कार्य तत्काल गर्न माग गरेका छन्।
यी हुन् मागहरू:
१) वायु प्रदूषण एक वातावरणीय स्वास्थ्य जोखिमको विषय भएकोले वायु प्रदूषण नियन्त्रण र व्यवस्थापनको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागू गरियोस् ।
२) वायु प्रदूषण गर्ने उद्योग, कलकारखाना, मोटर गाडी लगायत प्रदूषण गर्ने निकायमाथि निगरानी तथा अनुगमन गरी उचित कारबाहीको व्यवस्था गरियोस् ।
३. वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला दीर्घ रागीहरूमा बढी असर हुने भएको हुदा प्रदूषणबाट बच्न सक्ने वैकल्पिक व्यवस्था गरी उनीहरूको वातावरणीय मानव अधिकार सुरक्षित गरियोस् ।
४) वायु प्रदूषणसँग सम्बन्धित ऐन, कानुन, मापदण्ड, कार्यविधि एवं योजनाहरू समय सापेक्ष बनाउन तत्काल पुनरावलोकन गरी संशोधन गरियोस् ।
५) वन डढेलोका कारण यस वर्ष ५ हजार ठाँउमा वन डढेलो लाग्यो। यसबाट सामाजिक, आर्थिक, र वातावरणमा अपूरणीय क्षति भयो। वन डढेलो नियन्त्रण र व्यवस्थापनमार्फत वायु प्रदूषण रोकथामको लागि राष्ट्रिय कार्य योजना तयार गरी लागू गरियोस् ।
६) काठमाडौं उपत्यकाको फोहोर बञ्चरे डाँडामा लगि फाल्ने गरिएको छ। यस कार्यले नुवाकोट तथा धादिङका त्यस क्षेत्रका बासिन्दाको स्वच्छ हावामा बाँच्न पाउने अधिकारमा कुठाराघात भएको छ। संघीय सरकार एवं काठमाडौँ उपत्यकाका सबै नगरपालिकाले वैकल्पिक योजना तयार गरी उपत्यकाको फोहोर आफै व्यवस्थापन गर्ने प्रतिबद्धता गरियोस् ।
७) वायु प्रदूषणबारे विद्यालय, समुदायस्तर, सामुदायिक संघ–संस्था एंव मिडियामार्फत व्यापक बहसमा ल्याइ नागरिक स्तरमा जानकारी गरियोस् ।
८) अन्त्यमा वायु प्रदूषण विरुद्धको नागरिक अभियानमा जोडिन एंव क्लिन एयर नेटवर्क नेपालको अभियानमा सबै व्यक्ति तथा संघसंस्थालाई आह्वान गर्दछौँ।
क्लीन एयर नेटवर्क नेपाल(सीएनन) २००४ मा गठन भएको संस्था हो। जसले नेपालमा वायु प्रदूषण समस्यालाई समाधान गर्न सबै सम्बन्धित पक्षबीच सहकार्य र नेटवर्किङलाई प्रोत्साहन गर्दछ। सीएनन व्यक्तिहरू, विज्ञहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संगठनहरू, सरकारी संगठनहरू र स्वच्छ वायु व्यवसायमा संलग्न निजी क्षेत्रको अर्ध–औपचारिक नेटवर्कको रूपमा काम गर्दछ।
सीएनन एशियाली शहरहरूको लागि क्लीन एयर इनिसिएटिवको स्थानीय देश नेटवर्कको रूपमा काम गरिरहेको छ जुन एशियाली शहरहरूमा वायु गुणस्तर व्यवस्थापन सुधार गर्न प्रतिबद्ध संस्था र व्यक्तिहरूको बहु–हितधारक नेटवर्क हो। क्लिन इनर्जी नेपाल हाल सीएननको सचिवालय हो।































प्रतिक्रिया