चार महिनाको अवधिमा तरकारीको भाउ २१७ प्रतिशतसम्म महँगो

चार महिनाको अवधिमा तरकारीको भाउ २१७ प्रतिशतसम्म महँगो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य वस्तु तरकारीको भाउ २१७ प्रतिशतसम्म महँगो भएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो ।

उपत्यकावासीको माग अनुसार तरकारी आपूर्ति हुन नसक्नु र आएको पनि छिट्टै कुहिने र बिग्रने गरेकोले भाउ महँगो भएको हो । बजारमा बिक्रीका लागि आएका तरकारीको गुणस्तर पनि राम्रो छैन ।

कङ्लकीबाट कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएकी कल्पना सापकोटाले महँगो पैसा तिरेर पनि राम्रो तरकारी नपाएको गुनासो गरिन् । उनीसँगै बजारमा भेटिएकी कङ्लकीकै नम्रता क्षेत्री बजार घुमिसक्दा पनि कुन तरकारी किन्ने भन्ने अलमलमा परेर एउटा सागको मुठा लिएर निस्किइन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार माघ महिनामा प्रतिकेजी १२ रुपियाँ थोक मूल्यमा कारोबार भएको सेतो मुला वैशाखको दोस्रो सातामा मूल्य बढेर थोकमै प्रतिकेजी ३८ रुपियाँ पुगेको छ । जुन मूल्य माघ महिनाको भन्दा यो वैशाखमा २१७ प्रतिशत धेरै हो ।

यस्तै सो अवधिमा सानो गोलभेँडा प्रतिकेजी १८ रुपियाँमा कारोबार भएकोमा अहिले बढेर ४० रुपियाँ प्रतिकेजीमा कारोबार भइरहेको छ । कालीमाटीकी खुद्रा व्यापारी शर्मिला खड्काको अनुभवमा यसपटक गएको फागुनदेखि आएको असिना पानीले ठाउँ–ठाउँको तरकारी बालीमा ठूलो क्षति पु¥याएको र त्यसको प्रभाव तरकारीको भाउमा देखिएको छ ।
गोरखापत्रबाट

Logo