काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाए लगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो ।
पार्टीले महाधिवेशन गर्ने घोषणा गरेपनि मिति भने तय गरेको छैन । गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा तीन महिनाभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने बताइएको थियो । तर पार्टी ११ महिनासम्म आन्तरिक किचलोमा रुमलिएको थियो । पार्टी एकता भएको लामो समयपछि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ ।
विगतमा पूर्व दुई पार्टी एमाले र माओवादी केन्द्रबाट जिल्लाको अध्यक्षको जिम्मेवारी लिएकाहरुलाई नै पार्टीले अध्यक्ष र सचिव बनाएको छ । पार्टीले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाए पनि विवादको गाँठो फुकाउन भागवण्डा अनुसार अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
नेकपा पार्टी स्थापना दिवसको अवसरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया अगाडि बढेकाले कार्यकर्ताहरुलाई उत्साहका साथ लाग्न निर्देशन दिनुभएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेकपाले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षद्वयले जनताको अधिकार र समृद्धिको चाहनालाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया