कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि ज्योतिषसम्मलाई लक्षित गरि बक्तब्य दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गर्दै विकास भएन भन्नेहरूलाई चेतनाको आँखाले हेर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीले भने- गान्धारीकोजस्तै आँखामा पट्टी बाँधेपछि कहाँ विकास देखिन्छ त?
महाभारतका पात्र धृतराष्ट्र जन्मजात अन्धा थिए। उनीसँग विवाह गरेपछि गान्धारीले पनि जीवनभर आँखामा पट्टी बाँध्ने निर्णय गरेकी थिइन्। उनले कपडाको नभई चेतनाको पट्टी आँखामा बाँधेकाहरूले अहिलेको सरकारले गरेका विकास नदेखेको तर्क गरे।
प्रधानमन्त्री ओलीलेको प्रहर यतिमै रोकिएन। उनले आफ्नो सरकारले ३८ सय क्विन्टल सुन तस्कर गर्नेहरुलाई कारबाही गरिरहेको बताउंदै भने, , ‘यो सरकार आएपछि ३८ टन होकि क्वीन्टल हुने सुन तस्करी पनि रोकिएको छ। केहीले सोध्छन्-खोई सुन? त्यो त त्यतिबेलाकालाई थाहा हुनु पर्ने हामीलाई के थाहा हुन्छ।’
प्रधानमन्त्री ओलीले मुलुक ७० वर्षको संघर्षपछि मात्र लोकतन्त्र प्राप्त भएको भन्दै राजतन्त्र व्यूँताउने सपना सपनामात्रै रहने बताए । उनले भने, ” कोही पनि जन्मिदै ठूलो र राजा नभइ हाल्ने भएकोले अब यो मुलुकमा राजतन्त्र व्यूँताउने सपना नदेख्न म साथीहरुलाई आग्रह गर्दछु । हामीले राणाविरुद्ध, राजाकाविरुद्ध, पञ्चायतका विरुद्ध लड्यौं, असमानताविरुद्ध, थिचोमिचो र शोषणकाविरुद्ध लडेर आज सही ठाउँमा आएका छौं ।”
गएको वर्ष वृद्ध भत्ता नबढ्दा विरोध भएकोमा प्रधानमन्त्रीले भने, ‘एक वर्ष खुब बासुरी बज्यो, वृद्ध भत्ता बढेन भनेर। अबको बजेट आएपछि ती के भन्लान् ?’ हरेक दिन एक कदम अगाडि बढेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकको बैंक खाता, विद्यार्थी भर्नाजस्ता धेरै काम सरकारले गरेको बताए। मेलम्चीको पानी जसरी पनि ल्याउने बताउदै उनले भने, ‘ठेकेदार भाग्यो मेलम्ची आउन ढिला भयो। हामी मेलम्ची ल्याउँछौं,।
प्रधानमन्त्रीले ज्योतिषलाई पनि व्यंग्य गरे, ‘दुई पार्टी मिल्छ भनेर किन ज्योतिषीले भन्न नसकेको ? अनि फुट्छ, फुट्दै छ भन्ने ? भवितव्यले दुई पार्टी एकता भएको होइन।’ उनले पार्टी विभाजित हुने दाबी गर्दै ज्योतिषले समेत भविष्यवाणी गर्ने गरेको भन्दै त्यस्तो थाहा पाउने ज्योतिषले तत्कालीन एमाले र माओवादी मिल्दैछ भनेर किन थाहा पाएनन् भन्दै व्यङ्ग्य गरे ।





























प्रतिक्रिया