नयाँ दिल्ली
भारतीय संसद्को तल्लो सदन लोकसभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । बिहीबार भारतका १२ राज्य र एक केन्द्र शासित प्रदेशमा ९५ लोकसभा सिटका लागि निर्वाचन सम्पन्न भएको हो । निर्वाचन आयोगले दोस्रो चरणमा समग्रमा ६१ दशमलव १२ प्रतिशत मतदान भएको जनाएको छ ।
आयोगका अनुसार आसाममा ७३ दशमलव ३२ प्रतिशत, बिहारमा ५८ दशमलव १४ प्रतिशत, छत्तीसगढमा ६८ दशमलव ७० प्रतिशत, जम्मु काश्मीरमा ४३ दशमलव ३७ प्रतिशत, कर्नाटकका ६१ दशमलव ८० प्रतिशत, महाराष्ट्रमा ५५ दशमलव ३७ प्रतिशत, मणिपुरमा ७४ दशमलव ६९ प्रतिशत, उडिसामा ५७ दशमलव ४१ प्रतिशत, पुडुचेरीमा ७२ दशमलव ४० प्रतिशत, तमिलनाडुमा ६१ दशमलव ५२ प्रतिशत, उत्तर प्रदेशमा ५८ दशमलव १२ प्रतिशत र पश्चिम बंगालमा ७५ दशमलव २७ प्रतिशत मतदान भएको छ ।
विद्युतीय मतदान मेसिनमा देखिएको गडबढीका कारण उडिसाका चार मतदान केन्द्रमा पुनः चुनाव गराउन निर्वाचन आयोगले आदेश दिएको छ । उडिसाका चुनाव अधिकृत सुरेन्द्र कुमारले सुन्दरगढको बुथ नम्बर २१३, बोनाईको बुथ नम्बर १२९, डासपल्लाको बुथ नम्बर २१० तथा २२२ मा पुनः मतदान गर्न आदेश दिएका हुन् ।
यो निर्वाचनबाट असामका पाँच स्थान, बिहारका पाँच स्थान, छत्तीसगढका तीन, जम्मु र काश्मीरका दुई, कर्नाटकका १४, महाराष्ट्रका १०, मणिपुरको एक, उडिसाका पाँच, तामिलनाडुका ३८, उत्तर प्रदेशका आठ, पश्चिम बंगालका तीन र पुडुचेरीको एकसहित ९५ लोकसभा सिटमा प्रतिनिधित्वको टुंगो लाग्नेछ ।
बिहीबारको चुनावमा कर्नाटकबाट पूर्वप्रधानमन्त्री एवं जनता दलका अध्यक्ष एचडी देवेगौडा चुनावी मैदानमा छन् । त्यस्तै कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिल गौडा पनि पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् ।
उडिसामा निर्वाचन अधिकारीको हत्या
यसैबीच भारतको पूर्वी राज्य उडिसामा दोस्रो चरणको निर्वाचन हुनु भन्दा केही घण्टा अघि एक निर्वाचन अधिकारीको हत्या भएको छ । निर्वाचनमा खटिएकी कर्मचारीको विद्रोही माओवादीले हत्या गरेको अनुमान गरिएको छ । संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदान केन्द्र जाँदै गर्दा गाडीमा माओवादी आक्रमण भएको बताइएको छ ।
कुल ९० करोड मतदाता रहेको भारतमा निर्वाचनका लागि देशभरि ५० लाख कर्मचारी खटिएका छन् । उडिसाको कन्धमालमा बिहीबार बिहानै दिगलको गाडीमा माओवादीले विस्फोटक पदार्थ राखिदिएको बताइएको छ ।
एजेन्सी































प्रतिक्रिया