१३ वर्षअघि मृत्यु भएका कर्मचारी समायोजनको सूचीमा !

१३ वर्षअघि मृत्यु भएका कर्मचारी समायोजनको सूचीमा !

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरा

सरकारले १३ वर्षअघि मृत्यु भएका एक व्यक्तिलाई समायोजनमा सरुवाको सूचीमा समावेश गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य कर्मचारीको समायोजन सूचीमा अहेव टेकबहादुर पाललाई डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा रहेको शीर्ष स्वास्थ्य चौकीमा खटाइएको छ । जबकि उनको १३ वर्षअघि नै मृत्यु भइसकेको छ ।

कर्मचारी समायोजन सकेर ‘विश्वलाई चकित पारेको’ बताउने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भनेझैं डडेल्धुराको शीर्ष स्वास्थ्य चौकीमा मृत्युवरण गरेका व्यक्ति सरुवाको सूचीमा आएपछि सबै चकित परेका छन् ।

अजयमेरु गाँउपालिका ६ (साबिकको देवल दिव्यपुर–७) डडेल्धुरा स्थायी घर भएका अहेव टेकबहादुर पालको १० माघ २०६३ मा निधन भएको थियो । दशक अघि मृत्यु भइसकेका कर्मचारीलाई कार्यालयमा खटाइएको जानकारी पाएपछि परशुराम नगरपालिका डडेल्धुराको शीर्ष स्वास्थ्य चौकीले प्रमाणसहित मन्त्रालयमा उजुरी पेश गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सूचीमा चौंथो तहका स्वास्थ्यकर्मी भनेर पाललाई उल्लेख गरिएको छ। सरकारले मृत्युको यति लामो समय बितिसक्दा पनि सरकारी रेकर्डमा पाललाई कार्यरत कर्मचारीकै सूचीमा राखेको खुलेको छ।

शीर्ष स्वास्थ्य चौकीले स्वर्गीय पालको घरमा सम्पर्क गरी निजको पारिवारिक निवृत्तिभरणको प्रमाणपत्र सहित मन्त्रालयमा गुनासो दर्ता गराएको हो ।
अन्नपूर्णबाट

Logo