चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा यात्रुसहित दुई वटा बस बेपत्ता भएको दोस्रो दिन मेघौलीको गोलाघाटमा एउटा शव भेटिएको छ ।
दुर्घटनास्थलभन्दा ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक भारतीय नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । गोलाघाटमा भेटिएको शव घोप्टो अवस्थामा बालुवामा आधा पुरिएको अवस्थामा भेटिएको हो । शव पनि सनाखत नभएकाले दुर्घटनामै परेका यात्रुकाे हो वा हैन भन्ने कुरा अध्ययन भइरहेकाे बताइएकाे छ ।
सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जनाले पैडिएर ज्यान जोखाउन सफल भएका थिए । अन्यकाे अझै अत्ताेपत्ताे छैन । शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूहहरु दिनभर खटिएको थियाे तर, न बस भेट्याे न यात्रु । आज पनि बिहानैबाट गोताखोरहरु ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर उद्धारमा खटिएका छन् ।





























प्रतिक्रिया