‘नेपालमा परम्परागत कृषि प्रणाली छ, यसलाई हेर्ने तरिका बदल्नु पर्छ’ : अनान गोडेर (इजरायली राजदूत/भिडियाे)

‘नेपालमा परम्परागत कृषि प्रणाली छ, यसलाई हेर्ने तरिका बदल्नु पर्छ’ : अनान गोडेर (इजरायली राजदूत/भिडियाे)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको यो वर्ष ६० वर्ष पुरा हुँदैछ । यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ । यो सँगै नेपालका लागि इजरायलका राजदूत हनान गोडेर दोहोरिएर नेपाल आएपछि चर्चाको विषय बनेको छ । नेपालमा राजदूत दोहोरिएर आएको यो पहिलो घटना हो । यसै सन्दर्भमा राजदूत गोडेरसँग नेपाल इजरायल सम्बन्ध र दोहोरिएर आउनुको कारण बारे कुराकानी गरिएको छ । साथै नेपाली कृषि र प्रविधीको चर्चा पनि गरेका छौं ।

महामहिम तपाईंलाई स्वागत छ ।

धेरैधेरै धन्यवाद ।

यो तपाईंको दोस्रो कार्यकाल हो । कसरी सम्भव भयो ?

हो, म दोस्रोपटक राजदूत बनेर आएको छु । केही वर्ष अगाडि सम्म यहिं थिएँ । फेरि आउन पाउँदा खुशी छु । नेपाल धेरै राम्रो छ र एकदमै चाखलाग्दो देश पनि छ । नेपालमा इजरायली सरकारको परियोजनाहरु पनि सञ्चालनमा छन् । हामी दुवै देशले परस्पर हितका धेरै काम गरेका छौं । यसलाई निरन्तरता दिन पनि म आएको हुँ ।

नेपाल र इजरायलबीचको सम्बन्ध हिजो र आज कस्तो छ ?

यो वर्ष हामी इजरायल नेपाल सम्बन्धको ६० औं वर्षगाँठ मनाइरहेका छौं । यो कुरा हामी विर्सन सक्दैनौं । इजरायलको अस्तित्वको लागि नेपालले दिएको मत महत्वपूर्ण छ, मलाई लाग्छ एशियामा पहिलो पनि हो । यो दूतावास भएको भवनमा नै पहिलो पटक कार्यालय खुलेको हो । अहिलेसम्म हामी यहिं छौं । हामी लामो समयदेखि द्विपक्षीय हितका धेरै आयोजनाहरु सञ्चालन गर्दै आइरहेका छौं । यो तथ्यले असल सम्बन्धलाई प्रष्ट पार्छ ।

हाम्रो सम्बन्धमा नेपाली जनता र इजरायली जनता कसरी जोडिएका छन् ?

हाम्रो सम्बन्ध असल छ । यसको कारण हाम्रो समान बुझाई छ । हामी दुवै साना देश हौं । दुवै देशको छिमेकमा ठूला देश छन् । ठूला देशको छिमेकमा रहेका साना देशका केही समान प्रकृतिका चुनौती, छिमेक–छिमेक बीचको सवालमा हाम्रो एक समान भोगाई र सहानुभूति रहन्छ । मलाई लाग्छ नेपाल इजरायल बीचको सम्बन्ध प्रगाढ हुन यो विषयले महत्वपूर्ण भूमिका खेलेको छ । हाम्रो देश सानो छ । मध्यपूर्वमा देशहरुबीच मित्रवत सम्बन्ध छैन । यसलाई हामीले व्यवस्थापन गर्दै आएका छौं ।

हाम्रो देश स्थापनाको ७० वर्षको इतिहासमा धेरै प्रगति भइसकेको छ । इजरायलमा धेरै देशका मान्छेहरु आउन चाहन्छन्, काम गर्न चाहन्छन् । इजरायलको प्रगति हेर्न चाहन्छन् । नेपालीले पनि इजरायललाई मन पराउँछन् यस्तै इजरायली जनता पनि नेपाल र नेपाली मन पराउँछन् । धेरै इजरायली एकपटक नेपाल आउन, घुम्न चाहन्छन् । यस्तै इजरायलमा गएर कुनै नेपालीले नेपालबाट आएको भनेर सुनायो भने मात्र पनि हार्दिकता र स्वागत पाउँछ ।

अब अलिकति कृषिका कुरा गरौं । यो तपाईंको मन पर्ने विषय पनि हो । इजरायलको तुलनामा नेपालको कृषि कस्तो छ ?

म पहिला इजरायलको कृषिको कुरा गर्छु । ७० वर्ष अगाडि हामी अभाव, भोकमा थियौं । जनताले खाद्यान्न लिनका लागि सरकारले दिने कुपनको भर पर्नुपर्थ्यो । यसमा पनि सिमित खाना मात्र थियो । अहिलेको अवस्थासम्म आउँदा हामीले ठूलो फड्को मारेका छौं । यो चमत्कार जस्तो लाग्छ तर यो चमत्कार नभएर कडा मेहनतको नतिजा हो । अहिले विश्वमा इजरायल कृषि उपजको प्रमुख उत्पादक मध्ये एक हो । यो कसरी सम्भव भयो, सुन्दा कथा जस्तो लाग्छ। तपाईंलाई थाहा छ इजरायलमा जम्मा ३ प्रतिशत किसानले ९७ प्रतिशत जनतालाई खुवाईरहेका छन् । तपाईंले सोच्नु भयो होला यो कसरी हुन्छ ? हो यो कुरा नै हामी नेपाली जनतालाई भन्न चाहन्छौं, सिकाउन चाहन्छौं ।

हामीले यो काम गरिरहेका छौं । हामीले इजरायलबाट प्राविधिक विज्ञहरु बोलाएर सिकाउने, नेपाली किसानलाई इजरायल लगेर सिकाउने काम गरिरहेका छौं । हामीले अनुभव र सिकाई आदान प्रदान गरिरहेका छौं । नेपालीहरुले विस्तारै सिक्न पनि थालेका छन् ।

कृषिको प्रविधि र विकासमा इजरायल पावर हाउस नै हो । नेपाल सरकार र नेपाली जनताले बढीभन्दा बढी फाइदा कसरी लिन सक्छन् ?

कृषि प्रविधिमा धेरै विकास भइसकेको छ । हामीले सिकाउने यहि नै मुख्य कुरा हो । म एउटा कुरा भन्छु सुन्नुस् है त, इजरायलमा पर्याप्त वर्षा हुँदैन साथै पानीको श्रोत पनि पर्याप्त छैन । अनि हामीले थोपा सिंचाईको विकास गर्यौं । यो प्रविधिको प्रयोग पानीको कमी पूरा गर्नु मात्र हैन विरुवामा पोषण र मल पुर्याउन पनि प्रयोग गर्र्यौं । नेपालमा हामी हेर्छौं नेपालमा मलको प्रयोग बारी खेतमा छरेर प्रयोग गर्छौं । अहिले सम्म यसरी नै प्रयोग गरिन्छ जुन गलत पनि हो । इजरायलमा विरुवाको जरामा पुग्ने गरी मल र पानी दिइन्छ । हामी यसलाई फर्टिजेसन भन्छौं । यो नै प्रविधि हो । साथै यो लगानी पनि हो । थोपा सिंचाइको लागि पाइप लगायतको सामानमा खर्च हुन्छ तर यसले पानी र मलमा हुने अनावश्यक खर्च पनि बचाउँछ ।

यसबाट उत्पादन बढ्छ । नेपालीले सिक्ने यही हो । यदि १० रुपैयाँ लगानी गर्नुहुन्छ भने ५० रुपैयाँ कमाउनु पर्छ । अर्को तर्फ कृषिलाई हेर्ने तरिका पनि बदल्नु पर्छ कृषि सोख होइन यो त व्यवसाय र जीवनको अर्को बाटो पनि हो । यो कुरालाई नेपाली दाजुभाईले बुझ्न जरुरी छ । अब पुर्खाले गर्दै आएको परम्परागत कृषिबाट केही हुँदैन । यसलाई परिवर्तन गर्न जरुरी छ । आधुनिक तरिकाले कृषि गर्न जरुरी छ । केही वर्ष अगाडिसम्म नेपालमा टनेल खेती थिएन । अहिले हेरौं त जताततै छ । यस्तै सिँचाई प्रणाली पनि फेरिंदै गएको छ यो पानीको अभावले होइन, कृषि उत्पादन बढाउन किसानले पानी मल दिने तरिका बदलेका हुन् । हो हामीले सिकाउन चाहेको र हेर्न चाहेको परिवर्तन पनि यहि हो । अब पनि आधुनिक कृषि प्रणाली अपनाइएन भने धेरै कुरा गुम्न सक्छ । नेपालको सम्भावनालाई हेर्ने हो भने खाद्यमा आत्मनिर्भर भएर विदेश निर्यात पनि गर्न सकिन्छ । नेपालको माटो मलिलो र उब्जाउशील छ । किसान पनि मेहनती छन् । हामीले यसलाई नै प्रोत्साहित गर्नुछ ।

तपाईं दोहोरिएर आएपछि केही विशेष योजना पनि छन् की, अब तपाईंको मुख्य दृष्टिगोचर के मा हुन्छ ?

हाम्रो ६० वर्षे सम्बन्ध त्यसै महत्वपूर्ण छैन यसका धेरै पक्ष र आयाम छन् । हाम्रो सम्बन्धको दायरालाई अझ फराकिलो बनाउनु छ । यो कृषि पर्यटन श्रम जस्ता धेरै पक्षमा हाम्रो सहकार्य छ र भविष्यमा पनि हुनु पर्छ । जसले अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो द्वीपक्षीय सम्बन्ध उदाहरणीय बनोस् । हामी यसैलाई सफल बनाउन लागि रहेका छौं । नेपाल र इजरायलबीच कस्तो अनौठो सम्बन्ध छ थाहा छ तपाईंलाई, तपाईंहरुसँग संसारको अग्लो शिखर सगरमाथा छ, हामीसँग संसारको होचो मृतसागर छ । यही कुराले पनि हामीहरुलाई निकट र सुमधुर सम्बन्ध बनाउन प्रेरित गर्छ ।

हामीले विभिन्न सञ्चार माध्यममा श्रम सम्झौताको विषयमा सुनेका छौं । नेपालबाट घरेलु हेरचाहको लागि श्रमिक लैजाने बारे के भइरहेको छ बताउन सक्नुहुन्छ ?

नेपालबाट लिने भनेको घरेलु हेरचाहको श्रमिक हो । खासगरी वृद्धवृद्धाको हेरचाहको लागि लिन खोजिएको हो । यसको सम्झौता भइसकेको छ । अब यो कार्यान्वयनको चरणमा जाँदैछ । आगामी महिनाबाट औपचारिक प्रकृया नै शुरु हुन्छ । यो हाम्रो सम्बन्धको राम्रो उदाहरण पनि हुनेछ । दुवै पक्षले यसबाट लाभ लिन सक्नेछन् ।

अन्त्यमा नेपाली दाजुभाईलाई केही भन्न चाहनु हुन्छ ?

पहिला देशलाई बचाउँ, वातावरण पनि जोगाऔं । विकाशलाई निरन्तरता दिऔं । नेपालले विकासको लामो बाटो हिड्नु छ । विकासबाट नै प्रगति सम्भव छ । अहिले धेरै राम्रा परिवर्तन र वातावरण बनेको छ । नयाँ संविधान बनेको छ । यसले विस्तारै काम गर्न थालेको छ । मेरो सबै नेपाली दाजुभाईलाई आग्रह छ विकासतर्फ लाग्नुहोस् । विकास र प्रगतिको लागि धेरै कुराको निरन्तरता आवश्यक हुन्छ । मेरो सबैलाई शुभकामना छ ।

Logo