बिस्केट जात्रा : ढालियो ५५ हाते लिंगो, आज जिब्रो छेडिने

बिस्केट जात्रा : ढालियो ५५ हाते लिंगो, आज जिब्रो छेडिने

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

बिस्का जात्राको पाँचौं दिन आइतबार शान्तिपूर्ण रुपमा भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा ठड्याइएको ५५ हात लामो लिङ्गो ढालिएको छ । भैरव एवं इन्द्र देवताको प्रतीकस्वरुप योसिंखेलमा शनिबार ठ्डयाइएको उक्त लिंगो आइतबार आठ वटा लामा डोरीले तानेर ढालिएको हो ।

नयाँ वर्षको पूर्वसन्ध्यामा ठड्याइएको उक्त लिङ्गो जात्रा हेर्दा शत्रुनाश हुने जनविश्वास छ । त्यसैले यस लिङ्गो जात्रालाई शत्रुहन्ता जात्रासमेत भनिन्छ ।

उक्त लिंगो ढाल्नु अघि भैरवनाथको रथमा भैरवको मूल देवता राखिएको थियो । त्यस लगत्तै लिंगोमा बाँधिएका आठवटा डोरी फुकाएर आठ कुना लगी तानिएको थियो । आठ दिशा जनाउने गरी आठ वटा डोरीबीच तानातान भएको लिंगो पश्चिमी दिशातर्फ ढलेको थियो ।

लिंगो जात्रा सकिए लगत्तै योसिंखेलमा रहेका भैरवनाथ र भद्रकालीको रथ तानेर गःहिटी पुर्‍याइएर तीनपटक जुधाइएको छ । यस जात्रालाई स्थानीय नेपालभाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ । यसरी दुई रथ जुधाउनुलाई भैरव र भद्रकालीको समागम भएको प्रतीकको रुपमा लिइन्छ ।

गःहिटीमा रथ जुधाइएपछि पाँचौं दिनको जात्रा पनि सम्पन्न भएको मानिन्छ । छैटौं दिन सोमबार मध्यपुर थिमी नपाको बोडेमा जिब्रो छेड्ने जात्रा र बालकुमारी, नगदेश र चपाचो क्षेत्रमा सिन्दूर जात्रा हुने चलन छ ।

आज जिब्रो छेडिने

भक्तपुरको मध्यपुरथिमि नगरपालिका ८ बोडेमा मनाईने जिब्रो छेड्ने जात्रामा यसवर्ष स्थानीय ४७ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने भएका छन् । श्रेष्ठले बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयारी गरेको बताए ।

जात्रालाई लोप हुनबाट जोगाउन बुद्धकृष्णले यसवर्ष समेत गरी सातौं पटक जिब्रो छेड्दै छन् । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर २ गते मध्यान्हमा कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौं मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo