हुम्लामा एक सिलिन्डर ग्याँसको मूल्य चौध हजार, ग्याँस प्रयोगकर्ता ७० जना मात्रै !

हुम्लामा एक सिलिन्डर ग्याँसको मूल्य चौध हजार, ग्याँस प्रयोगकर्ता ७० जना मात्रै !

केन्द्रबिन्दु
0
Shares

हुम्ला ।

हुम्लामा एक सिलिन्डर ग्याँसको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमीकोटसम्म पैदल ढुवानी गरेर ल्याउनु पर्ने भएपछि मूल्य आकाशिएको हो ।

सिमीकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक ग्याँस सिलिन्डरको मूल्य १४ हजार तिरेको बताए । विद्युत् नियमित नहुने, दाउरा बाल्दा महँगो पर्ने भएपछि ग्यासको जोहो गर्दा ग्याँसको मूल्य चर्को तिर्नु परेको उनको भनाइ छ । पैसा बढी परे पनि सहज हुने भएका कारण हुम्लामा ग्यास चुलोप्रति आकर्षण बढ्दै गएको छ । हवाईजहाजमा ल्याउन नमिल्ने र खच्चडमा ढुवानी गरेर हुम्लामा ग्याँस सिलिन्डर भित्रिने गरेको छ ।

ग्यास व्यापारी लोकेन्द्र शाहीले हुम्लामा ग्याँस महँगो पर्नुको कारण पाँच दिन पैदल लगाएर ढुवानी गर्नु रहेको बताए। उनले अग्रिम अर्डर भएपछि मात्र मुगुबाट ग्याँसका सिलिन्डर झिकाउने गरेको बताए ।

अर्कोपटक ग्याँस भर्नुपर्दा नौ हजार रुपियाँ पर्छ । सिलिन्डर व्यापारीलाई फिर्ता दिने र अर्को भरी सिलिन्डर ग्राहकलाई दिने गरिन्छ । हुम्लामा ७० जना मात्र ग्याँस चुलो प्रयोग गर्ने ग्राहक रहेका छन् । गोरखापत्रबाट

Logo