झापा । कोशी प्रदेशमा गत आर्थिक वर्षमा विभिन्न अपराधका ९ हजार ३ सय ८७ मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सबैभन्दा बढी १ हजार ५ सय ७४ सामाजिक अपराधका मुद्दा दर्ता भएका छन् ।
कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले गत आवमा आत्महत्याका १ हजार ५ सय ५४, लागूऔषधका १ हजार २९, बैंङ्किङ कसुरका १ हजार ४, चोरी तथा डकैतीका ७ सय ५३, जबरर्जस्ती करणीका ५ सय १७, ठगीका २ सय ८५ र कर्तव्य ज्यानका १ सय १६ वटा मुद्दा दर्ता भएका जानकारी दिए ।
उनका अनुसार जबरर्जस्ती करणी उद्योगमा १ सय १३, कीर्तेसम्बन्धी ४४, साइबर अपराधका २४, मानव बेचबिखन ११ र अन्य २ हजार ३ सय ५३ मुद्दा दर्ता भएका छन् ।
प्रहरीले १ वर्षको अवधिमा २ हजार ३ सय ८५ जना फरार अपराधी पक्राउ गरी ८६ करोड ४८ लाख २९ हजार ४ सय २९ राजस्व सङ्कलन गरेको प्रवक्ता दाहालले जानकारी दिए ।
सोही अवधिमा प्रहरीले १४ वटै जिल्लाबाट १० हजार ४ सय २० किलो गाजा बरामद गरेको जनाएको छ । साथै ५ हजार दुई सय १० रोपनी लगाइएको गाँजाखेती नष्ट गरिएको छ । ३ केजी ८ सय ८० ग्राम ब्राउन सुगर, ८६ ग्राम चरेस, विभिन्न मनोद्वीपक चक्की ७८ हजार ३ सय ३८ वटा, मनोद्वीपक सुई ७ हजार ३ सय ८७ एम्पुल र मनोद्वीपक पदार्थ २ सय २६ बोतल बरामद गरी नष्ट गरिएको प्रवक्ता दाहालले बताए ।
प्रहरीले गत आर्थिक वर्षमा भन्सार चोरी तस्करी सामान नियन्त्रण गरी १२ करोड, ३८ लाख ११ हजार २ सय १६, प्राकृतिक सम्पदा नदीजन्य पदार्थ दोहन नियन्त्रणबाट ४४ लाख १९ हजार १ सय ३५ र अवैध वन पैदावर नियन्त्रणमार्फत ८० लाख ९७ हजार १ सय ६५ राजस्व सङ्कलन गरेको जनाएको छ ।
प्रवक्ता दाहालका अनुसार जरिवाना तथा राजस्व सङ्कलन गरी कोशी प्रदेश प्रहरीले १ वर्षमा १ अर्ब १८ करोड ५७ लाख २ सय ५१ राजस्व सरकारको कोषमा जमा गरेको छ ।





























प्रतिक्रिया