यसरी दुर्घटनामा परेको थियो सौर्य एयरलाइन्सको जहाज

यसरी दुर्घटनामा परेको थियो सौर्य एयरलाइन्सको जहाज

केन्द्रबिन्दु
72
Shares

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा बुधबार बिहान ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे-७ जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

टेकअफ लगत्तै जहाज सुरुमा देब्रेतर्फ खसेर बजारिएको र फेरि उछिट्टिएर दाहिनेतर्फ पुगेको थियो । दाहिनेतर्फ लगभग दुई सय मिटर घिस्रिँदै जहाजले एयर डाइनेस्टीको हेलिकोप्टरको ह्याङ्गरलाई हिर्काउन पुग्यो । ह्याङ्गरमा रहेको कन्टेनरलाई समेत घिसार्दै जहाज तल खोल्सामा पुगेको थियो । जहाजको पछाडिको भाग त्यहाँबाट टुक्रिएर फेरि सय मिटर पर बजारिएको छ । यो भाग काँडाघारीको बाटो नजिक रहेको छ । तत्कालै जहाजमा अग्निनियन्त्रण र उद्दारकर्मी खटिएका थिए । तर, यात्रुको ज्यान बचाउन असफल रहे ।

जहाजमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थलमा सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । प्रारम्भिक जानकारीअनुसार जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको छ । उनी आफैं जहाजबाट निस्किन सफल भएका थिए । उनको टाउकोमा चोट लागेको छ ।

सौर्य एयरलाइन्सका सिईओ तथा प्रवक्ता उमेश आचार्यले केन्द्रबिन्दुलाई दिएको जानकारी अनुसार जहाजमा २१ जना यात्रु सवार थिए, जसमा १७ जना एयरलाइन्सकै कर्मचारी र ४ क्याबिन क्रू मेम्बर थिए । जहाजमा अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । उनीहरु पोखरामा जहाज मेन्टेनेन्सको कामका लागि जाँदै थिए । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

दुर्घटनामा सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक नै परेका छन्। सौर्य एयरलाइन्सको सुरक्षा प्रमुख, मर्मत म्यानेजर समेत दुर्घटनामा परेका हुन्। सौर्य एयरलाइन्सका अनुसार सुरक्षा प्रमुख सागर कुमार आचार्य, कन्टिन्युङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विन कुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल, अपरेसन डाइरेक्टर क्यापटेन मनिसरत्न शाक्य, क्वालिटी एस्विरेन्स प्रमुख दिलिप बर्मा रहेका छन्। यसैगरी जहाजमा अमितमान महर्जन, मनुराज शर्मा, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक अरेफ रेडा सवार रहेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणले भनेको छ, ‘उडानको क्रममा उड्ने बितिकै दाहिने तिर मोडिन गई रनवेको पूर्व तिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाईतेलाई उद्धार गरि अस्पताल पुऱ्याईको जानकारी गराईन्छ।’

Logo