बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाउँदा एक मात्र जिवितै उद्धार गरिएका पाइलट मनिष शाक्यले जहाज दुर्घटनाबारे मुख खोलेका छन् । अहिले सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत रहेका पाइलट शाक्य सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेका छन् ।
बिहीबार पाइलट शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका हुन् । ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ उनले भने, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’
काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको थियो भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्याइएको थियो । उनलाई रगताम्य अवस्थामा सेनाको बम डिस्पोजल टोलीले ५ मिनेट भित्र उद्धार गर्न सफल भएको थियो । चिकित्सकका अनुसार उनको शरीरको विभिन्न भागमा चोटपटक लागेको थियो । जसको उपचार हुँदैछ ।
काे हुन् पाइलट मनिष ?
निकै अनुभवी पाइलट मनिष शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर थालेका थिए । उनले सुरुमा गुण एयरलाइन्समा काम गरेका थिए। सन् २०२२ देखि भने शाक्यले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा र सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् । क्याप्टेन शाक्यले गत वर्ष मात्रै युवा अपरेसन डाइरेक्टरको अवार्ड प्राप्त गरेका थिए । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा उनले सो विधामा अवार्ड पाएका थिए ।





























प्रतिक्रिया