रसुवालीको आग्रहमा सर्वसाधारणलाई रसुवागढी र साञ्जेनको शेयर

रसुवालीको आग्रहमा सर्वसाधारणलाई रसुवागढी र साञ्जेनको शेयर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

रसुवालीको आग्रहमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर सर्वसाधारणलाई पहिले बिक्री गर्न लागिएको सम्बन्धित आयोजनाले स्पष्ट पारेको छ ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर बिक्री गरेपनि नियमानुसार आयोजना प्रभावितलाई साधारण शेयर बिक्री गर्नुपर्नेमा ती आयोजनाले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेका हुन् ।

नेपाल धितोपत्र बोर्डको नियम अनुसार आयोजना प्रभावितलाई १० प्रतिशत साधारण शेयर बिक्री गर्नुपर्छ । रसुवालीले आफूहरु भूकम्पपछिको पुनःनिर्माणमा लागेको र शेयर खरीदका लागि तत्काल रकम जुटाउन असक्षम रहेको भन्दै आयोजनाका प्रवद्र्धक कम्पनीलाई आग्रह गरेको चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले जानकारी दिनुभयो ।

सरकारले ती आयोजनालाई चैत १८ गते जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । रसुवावासीको आग्रहमा ती आयोजनाको शेयर सर्वसाधारणलाई बिक्री भइसकेपछि मात्रै वितरण गर्ने गरी बोर्डबाट पनि स्वीकृति लिइएको कोइरालाको भनाइ छ । रसुवाका स्थानीय निकाय, जिल्ला समन्वय समिति र सम्पूर्ण राजनीतिक दलको तर्फबाट शेयर बिक्री गर्ने समय पछि सारिदिन आग्रह गरेका थिए । सोही आग्रह अनुसार कम्पनीले व्यवस्था मिलाएको छ ।

साञ्जेन र रसुवागढी दुवै आयोजनाले स्थानीय प्रभावितलाई शेयर बिक्री गर्दा करीब एक अर्ब बराबरको आवेदन जिल्लामा पर्ने अनुमान छ । भूकम्पपछिको पुनःनिर्माणमा सो जिल्लाका अधिकांश नागरिक संलग्न भएका कारण शेयरमा लगानी गर्ने रकम अभाव हुने स्थानीयवासीको भनाइ छ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्थानीयवासीको आग्रहलाई आयोजनाले सम्बोधन गरेको बताउनुभयो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ती आयोजनाका प्रमुखले चिलिमे कम्पनी आफैंमा सफल कम्पनी रहेको र त्यसका सहायक कम्पनीको शेयरमा समेत आम नागरिक सहभागी हुने अपेक्षामा रहेको बताउनुभयो ।
गोरखापत्रबाट

Logo