काठमाडौँ । ग्लोबल टी२० लिगअन्तर्गत आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको छ । नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै भ्यानकुभर नाइट्सले लगातार तेस्रो खेलमा पराजय बेहोरेको हो ।
मन्ट्रियल टाइगर्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । मन्ट्रिल टाइगर्सको भने यो लगातार दोस्रो जित हो । उसले बंगला टाइगर्सलाई ३३ रनले पराजित गरेको थियो ।
भ्यानकुभर नाइट्सका रिजा हेन्ड्रिक्सले सर्वाधिक ३४ रन बनाए । ड्वेन प्रिटोरियस ३१ र हर्ष ठाकर १८ रनमा आउट हुँदा दीपेन्द्र ३० र सन्दीप एक रनमा अविजित रहे।
मन्ट्रियल टाइगर्सका आयन अफजल खानले सर्वाधिक तीन विकेट लिए । पहिला ब्याटिङ थालेको मन्ट्रियल टाइगर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन बनाएको थियो।
मन्ट्रियल टाइगर्सका दीलप्ररित बाजवा ३३, अजमातुल्लाह उमरजाई २७, टिम सेफर्ट १६ र क्रिस लिन १० रनमा आउट हुँदा कोर्बिन बोश ३५ र आयन अफजल खान १६ रनमा अविजित रहेका थिए।
भ्यानकुभर नाइट्सका मोहम्मद अमिर र ड्वेन प्रिटोरियसले समान दुई विकेट लिए । जेरेमी गोर्डन र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो । भ्यानकुभर नाइट्स यसअघि टोरेन्टो नेसनलसँग आठ विकेट र बंगला टाइगर्स २२ रनले पराजित भएको थियो ।































प्रतिक्रिया