काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा दुई प्रमुख दुई दल मिलेर अगाडि बढ्न अठोट गर्दा स्वभाविक रूपमा मानिसहरूमा प्रश्न उब्जिएको बताएका छन् ।
मंगलबार दाङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले ठूला दल मिल्दा लोकतन्त्र कमजोर हुने हो कि भन्ने प्रश्न उब्जिएको बताएका हुन् । त्यस्तै, कम्युनिष्ट नमिलेर कांग्रेससँग किन मिलेको भन्ने प्रश्न पनि रहेको उनले बताए ।
मुलुकको लोकतान्त्रिक मूल्य मान्यताको सवालमा कांग्रेस र एमाले विगतदेखि मिल्दै आएका पोखरेलले स्मरण गराए । यति बेला नागरिकमा व्यवस्था प्रति नै एक खालको निराशा बढेकाले त्यसलाई चिर्न एमाले र कांग्रेस एक ठाउँमा उभिनु परेको बताए । ‘जनतामा निराशा बढ्दो छ, सामाजिक अराजकता चुनौतीका रूपमा प्रकट भइरहेको छ, अब पुराना दल काम लाग्दैनन्, नयाँ दल चाहिन्छ भन्ने भाष्य खडा गर्ने कोसिस भइरहेको छ’, उनले भने ।
लोकतन्त्रमा प्रमुख राजनीतिक दल बिचको प्रतिस्पर्धा आवश्यक हुने भए पनि देश संकटमा पर्दा प्रमुख दल एक ठाउँमा उभिन आवश्यक रहेको उनको धारणा छ । ‘जनतामा भएको निराशालाई प्रमुख दल मिलेर तोड्नु पर्छ, आशा जगाउनु पर्छ, त्यसबाट मात्र हामीले लोकतन्त्रलाई जोगाउन सक्दछौँ’, उनले भने ।
नेपालमा जुन खालको अस्थिरता छ त्यसलाई तोड्नको लागि संविधानमा के कमजोरी भए र के सुधार गर्नुपर्छ भन्ने कुराको समीक्षा गरेर अघि बढ्नु पर्नेमा उनले जोड दिए । यो काम ठुला राजनीतिक दल नमिली सम्भव नभएको कुरा बिर्सन नहुने पोखरेलले प्रष्ट पारे । नेपालमा कम्युनिष्टहरु मिल्नु पर्छ, कम्युनिष्ट मिलेर सरकार बनाउनु पर्छ भन्ने कुराको व्यवहारिक अभ्यास पनि आफूहरूले गरेको उनले सुनाए । तर त्यस फल हुन नसकेको पोखरेलले बताए । प्रचण्ड सही बाटोमा हिँड्न नमान्दा नेकपा विभाजित भएका उनले बताए । एक पटक भएको असफलतालाई फेरी दोहोर्याउनु हुँदैन भन्ने पक्षमा आफू रहेको उनले प्रष्ट पारे ।
अब नेपालको वामपन्थी आन्दोलनलाई नेताहरूको टाउको जोडेर होइन कार्यकर्ताको मन जोडेर अघि बढाउनु पर्ने उनको राय छ । नेताको टाउको जोडेर गरिएको एकता असफल भइसकेको पोखरेलले बताए । त्यसको लागि राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उनले स्पष्ट पारे । बलिया राजनीतिक दल हुँदा मात्र यो सम्भव हुने उनको धारणा छ ।
अघिल्लो गठबन्धनमा १० सिटका नेतालाई प्रधानमन्त्री कबुल नगर्दा लगातार गठबन्धन भत्काउने काम भएको महासचिव पोखरेलले बताए । २ सय ७५ को संसद् भित्र १० सिटका नेतालाई प्रधानमन्त्री बनाउन कुराले कसरी देश बनाउन सक्छ ? भन्दै उनले प्रश्न गरे । ‘त्यस अर्थमा अब नेपालमा धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल तर्फ लैजानु पर्छ, यसका लागि कसै न कसैले पहल लिनु पर्दथ्यो, आज नेपाली कांग्रेस र नेकपा एमालेले आँट गरेका छन्’, उनले भने ।
दलहरू बलिया हुँदा मात्र लोकतन्त्र बलियो हुन्छ भनेर नै कांग्रेस र एमाले मिलेका उनले बताए । ३२ सिटेले ठुला राजनीतिक दललाई खेलाएर पाँचै वर्ष प्रधानमन्त्री खान्छु भनेर अभिव्यक्ति दिएपछि प्रमुख राजनीतिक दल मिल्न बाध्य भएको पोखरेलले सुनाए ।
स्थायित्व र विकासको लागि बलिया राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको उनले बताए।
लगातार एउटै व्यक्तिले नेतृत्व गर्दा देशले प्रगति गरेको छिमेकका उदाहरण महासचिव पोखरेलले उदाहरण पेस गरे । आज नै हामी सफल भयौँ भन्ने भन्दा पनि ठिक बाटोमा आएका छौँ भन्न सकिने अवस्था रहेको उनले बताए। अहिले सफल हुने बाटो तर्फ आफूहरू उन्मुख भएको उनले सुनाए ।





























प्रतिक्रिया