काठमाडौं । कीर्तिपुर नगरपालिकाले शनिवार मात्रै एउटै ठूलै उत्सब सम्पन्न गर्यो । कीर्तिपुर महिला महोत्सवले परिचित कार्यक्रम शनिवार सकिएको थियो । तर कार्यक्रमको नाम र व्यवहारमा धेरै फरक देखियो । जसको कारण निकै विवादमा आएको छ ।
नाम महिला महोत्सव भए पनि उद्घाटन समारोहमा प्रायः सबै अतिथि पुरुष भएको भन्दै ‘कीर्तिपुर महिला महोत्सव’ को निकै आलोचना भईरहेको छ । सामाजिक सञ्जालमा उद्घाटन समारोहको तस्बिर राखेर आलोचना गर्नेहरु धेरै छन् ।
बिहीबार भएको उद्घाटन समारोहमा कीर्तिपुर महानगरपालिकाकी उपप्रमुखबाहेक अरु सबै अतिथि पुरुष थिए । नाम चाहिँ कीर्तिपुर महिला महोत्सव, तर उद्घाटनमा चाहिँ किन पुरुष मात्रै भनेर धेरैले प्रश्न गरिरहेका छन् । यसबारे कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले स्पष्टिकरण दिएकी छन् ।
महिला महोत्सवमा अथिति सबै पुरुष किन भन्ने केन्द्रबिन्दुको प्रश्नमा उपमेयर खड्काले भनिन्, ‘व्यवहारमा लागू गर्न धेरै गाह्रो छ । पदिय हिसावले सबै वडाअध्यक्ष ज्यूहरु पुरुष नै छन् । उनीहरुलाई मञ्चमा स्थान दिँदा यस्तो देखिएको हो । संविधानले नै मेयर र उपमेयरमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ । जसका कारण प्रत्येक नगर, गाउँमा एक जना महिला हुनुहुन्छ । तर वडामा महिलाको प्रतिनिधित्व अझै छैन् । कानून र व्यवहारमा धेरै फरक हुन्छ । त्यसको ज्वलन्त उदाहरण त्यहि महिला महोत्सव पनि हो ।’
महिला महोत्सवको उद्घाटनमा सबै पुरुष देखिएपनि कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागीता रहेको उपमेयर खड्काको भनाई छ । महोत्सवमा राखिएका सबै स्टलमा महिलाको मात्रै सहभागिता थियो । महिलाले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनीमा राखिएको थियो । नेवारी संस्कृति र परम्पराको समेत प्रदर्शन गरिएको थियो ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा भएको महोत्सवमा १ नम्बरदेखि १० नम्बर वडाका विभिन्न व्यक्ति तथा समूहले उत्पादन गरेका सामग्री, नेवारी खाजाको परिकार, हाकुपटासी बुन्ने तरिका, चिउरा उत्पादन गर्ने पुरानो प्रविधि, कृषिजन्य सामग्रीका विभिन्न स्टल राखिएको थियो ।
यस्तै नेवार समुदायका महिलाहरुको भेषभुषा, परम्परा, मौलिक जीवनशैली बुझाउने संस्कृति र संस्कारको जीवन्त प्रदर्शनी पनि गरिएको थियो । महोत्सव अवधिभर लाखे नाच, धिमे बाजा, विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शनी गरिएको उपमेयर खड्काको भनाई छ ।

नगरपालिकाले महिलाको आर्थिक उत्थानका लागि भन्दै आर्थिक वर्ष २०७४/०७५ मा महिला लक्षित कार्यक्रम ल्याईएको थियो । महिलाहरुलाई विभिन्न रोजगारीका कार्यक्रम, सिप सिकाउने जस्ता कार्य भएका थिए । महिलाहरुले नै उत्पादन गरेका सामग्रीहरुलाई प्रचार प्रसार तथा प्रवर्धन गर्न पनि महोत्सव फलदायी भएको उपमेयर खड्काको भनाई छ ।





























प्रतिक्रिया