काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा कार्यसम्पादन समिति गठन हुने सम्भावना बढेको छ । त्यसको लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा मिलेको छ ।
शुक्रबार बसेको शीर्ष नेताहरुको बैठकमा कार्यसम्पादन समिति गठनबारे भागबण्डा मिलेको नेताहरुले बताएका छन् । पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति बन्ने सम्भावना छ । सभापतिसहित ७ जना पदाधिकारी छन् भने एकता प्रक्रियाबाट आएका विजयकुमार गच्छदार स्वत पर्ने भएका छन् । अब बाँकी २१ जनामा भागवण्डा भएको छ ।
पार्टी सभापति देउवाले ६०र४० को भागवण्डाका आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८ जनाको नाम मागेका छन् । यसमा वरिष्ठ नेता पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष लगायत पर्ने छन् । बाँकी १२ जना देउवा समूहबाट आउनेछन् । १३ औं नम्बरमा कृष्ण सिटौला पर्नेछन् ।
बैठकमा सभापति देउवाले सिटौलालाई समेत समेटेर ८ जनाको नाम मागेका थिए । दुबै पक्षले नाम दिए आजको बैठकबाटै कार्यसम्पादन समिति गठन गरिनेछ । यसअघि पनि कार्यसम्पादन समिति बनाएको थियो तर विधान विपरीत धेरै संख्या राखेको भन्दै केन्द्रीय कार्यसमितिमा चर्को आलोचना भएपछि विघटन गरिएको थियो ।
बैठकमा संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक चयन लगायतका विषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन् । १३ औं महाधिवेशन भएको तीन वर्ष पुगिसक्दा पनि कांग्रेसले केन्द्रीय विभागहरु गठन गर्न सकेको छैन । नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग हुन्छन् ।





























प्रतिक्रिया