प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित पाँच न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबारको प्रारम्भिक बैठकले प्रस्तावित न्यायाधीशविरुद्धमा कुनै उजुरी भएमा माग गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि १० दिन सम्मको समयभित्र सरोकारवाला र सर्वसाधारणले उजुरी दिन सक्नेछन् ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान भएको बताउनुभयो । अर्यालले भन्नुभयो, ‘‘सुनुवाइको प्रक्रिया अगाडि बढाउन पत्र प्राप्त भएको थियो । समितिको प्रारम्भिक बैठकले प्रस्तावित पदाधिकारी उपर कुनै उजुरी भएमा माग गर्ने निर्णय गरेको छ ।’’

सरोकारवाला तथा सर्वसाधारणले प्रस्तावित न्यायाधीशउपर इमेल तथा समिति सचिवालयमा नै उपस्थित भएर उजुरी दिन सक्नेछन् । यस्तै सबै जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दर्ता गर्न सकिनेछ ।

न्याय परिषद्ले मङ्गलबार सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिस गरेको थियो । परिषद्को निर्णय अनुसार बुधबार सुनुवाइ प्रक्रिया अगाडि बढाउन समितिमा पत्राचार भएको थियो । समितिले उजुरी आह्वान गर्दै बिहीबारदेखि नै प्रक्रिया आरम्भ गरेको हो ।

परिषद्ले उच्च अदालतका दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायीलाई सर्वोच्चका न्यायाधीशमा सिफारिस गरेको थियो । रिक्त रहेको पाँचै पदमा न्यायाधीश सिफारिस गरिएको हो । सिफारिस अनुसार सर्वोच्चमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा हुनुहुन्छ । यस्तै कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ताद्वय हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा हुनुहुन्छ ।
गोरखापत्रबाट

Logo