आज उपत्यकामा घोडेजात्रा पर्व मनाईंदै

आज उपत्यकामा घोडेजात्रा पर्व मनाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

हरेक वर्ष चैत कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व आज उपत्यकामा मनाईंदैछ । बालबालिकालाई भूत, प्रेत पिशाच लगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी परम्परागतरुपमा घोडेजात्रा पर्व मनाइने गरिएको हो ।

चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौं उपत्यकामा बालबालिकालाई भूत, प्रेत, पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिउन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँशीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।

चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बुझाइने र नजानेलाई औँशीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको बताइन्छ । विशेषगरी बालबालिकालाई किचकन्या, मुर्कट्टा आदि नामका नकारात्मक तत्वले दुःख नदिऊन् भनी यो पर्वमा सहरभर घोडा कुदाउने गरिन्थ्यो । घना बस्ती विस्तार भएपछि अहिले टुँडिखेलमा मात्र कुदाउन थालिएको छ ।

पहिले भूत, प्रेत आदि नकारात्मक तत्वका कारण कालिमाटी क्षेत्रका मानिससमेत स्युचाटारको कुनामा जग्गा लिएर बस्ने गरेको काठमाडौंका बासिन्दा बताउँछन् । घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ । यो पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।

Logo