काठमाडौँ । कांग्रेस नेता डा.सुनिल शर्माले दुर्गम जिल्लाका विपन्न सर्वसाधारणलाई काठमाडौँमा निःशुल्क उपचार सेवा उपलब्ध गराएका छन् । काठमाडौँस्थित केएमसी अस्पतालका सञ्चालक एवं समाजसेवी डा. शर्माले खोटाङ, गुल्मी, बझाङ, बाजुरा, दैलेख, डोटी, बैतडी र रामेछापका विपन्नलाई काठमाडौँमा अप्रेशन र भर्ना भई उपचार गराउँदा अस्पताल सेवा निःशुल्क उपलब्ध हुने व्यवस्था गरेका हुन् ।
दुर्गम जिल्लाका विपन्नले काठमाडौँस्थित केएमसी अस्पतालमा यो सेवा पाउने भएका हुन् । शर्मा यस अस्पतालका सञ्चालक पनि हुन् । उपचारका लागि आउने विरामीको अप्रेशन र भर्ना भई उपचार गराउँदा अस्पताल सेवा निःशुल्क गरिने केएमसी अस्पतालका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिएका छन् । तर उपचारका क्रममा आवश्यक औषधि र अन्य सामान भने विरामी पक्षले आफैँ व्यवस्था गर्नुपर्ने छ ।

विभिन्न जिल्लाका जिल्ला अस्पताल वा स्वास्थ्य संस्थामा जाँच गराइ रोग पहिचान भई अपरेशन गर्नुपर्ने वा भर्ना भई रोगको उपचार गर्नुपर्ने विरामीहरूले सम्बन्धित जिल्लाका विभिन्न व्यक्तिलाई सम्पर्क गरी उनीहरूको सिफारिसमा केएमसी अस्पतालमा सम्पर्क गर्नुपर्ने दाहालले बताएका छन् ।
अस्पतालमा सेवा लिनका लागि गुल्मीका बासिन्दाले सांसद डा. चन्द्र भण्डारी तथा पार्टी सभापति खिलधोज पन्थीसँग समन्वय गरी भदौ १२ गते केएमसी आउनुपर्ने भएको छ । यस्तै, बझाङका बासिन्दाले पूर्वसांसद चन्दा जोशी तथा पार्टी सभापति खड्कबहादुर बोहोरासँग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी भदौ १८ गते केएमसी अस्पतालमा आउनुपर्ने छ भने बाजुराका बासिन्दाले जनक गिरी, सभापति रामसिंह रावल, दिनेश शाही तथा त्रिवेणी नगरपालिका अध्यक्ष कर्णबहादुर थापा र बडिमालिका नगरपालिकाकी राधिका सिंहलाई सम्पर्क गरी भदौ २४ गते काठमाडौँको केएमसीमा उपचारको व्यवस्था गरिएको छ ।

त्यस्तै, ओखलढुङ्गाका बासिन्दाले पार्टी सभापति तथा सांसद तेजेन्द्र खनालसँग समन्वय गरी भदौ ३२ गते, दैलेखका बासिन्दाले सांसद दिक्पालकुमार शाही तथा पार्टी सभापति मणिराम रेग्मीसँग सम्पर्क गरी असोज २ गते, डोटीका बासिन्दाले पार्टी सभापति नरेन्द्रबहादुर सिंह तथा दिपायल शिलगढी नगरपालिकाका प्रमुख विजय खड्कासँग समन्वय गरी असोज ४ गते केएमसीमा उपचारको व्यवस्था गरिएको छ ।
त्यसैगरी, बैतडीका बासिन्दाले पार्टी सभापति चतुरबहादुर चन्द तथा क्षेत्रिय सभापति शिवराज भट्टमार्फत असोज ५ गते केएमसी आउनुपर्ने छ भने रामेछापका बासिन्दाले पार्टी सभापति तथा सांसद पूर्णबहादुर (कान्छाराम तामाङ) लाई भेटी असोज ७ गते अस्पतालमा आउन भनिएको छ । खोटाङका बासिन्दाले सुवास पोखरेल, पार्टी सभापति विष्णुकुमार राई र उपसभापति इभन राईलाई सम्पर्क गरी असोज १० गते केएमसी आउन आग्रह गरिएको छ ।

डा. शर्माले गरीब, विपन्न र असहायहरूलाई अस्पतालमा पनि निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् । समाजसेवाका क्षेत्रमा उदाहरणीय व्यक्तिको पहिचान बनाएका डा. शर्माले यसअघि पनि बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराइसकेका छन् ।






























प्रतिक्रिया