काठमाडौं
आँधीबाट प्रभावित बारा र पर्सामा राहत लिनेमा वास्तविक पीडितभन्दा पनि न्यून क्षति भएका पहुँचवाला र धनीमानीकै रजाइँ चलिरहेको छ । पक्की घरका छतका रेलिङमा मात्रै क्षति पुगेको तर घरका सबै सामान सुरक्षित रहेका व्यक्तिहरूले नै वास्तविक पीडितको नाममा राहतका सामान लिने क्रम बढेको छ । तर खुला आकाशमुनि र टेन्टमा बसेका वास्तविक पीडितसमक्ष भने राहतका सामानको पहुँचै पुग्न सकेको छैन ।
हुरीबाट सबैभन्दा बढी क्षति पुगेको बाराको फेटा–६ करैनिया क्षेत्रमा टेन्ट र पालमुनि बसेका पीडितले आफूहरूले राहतको प्रभावकारी जोहो गर्न नसकेको बताएका छन् । सो वडामा मात्रै हुरीबाट ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनौं घाइते छन् । स्थानीय पीडितका अनुसार हुरीबाट क्षति पुगेका वास्तविक पीडितको स्पष्ट तथ्यांक लिने काम हुन सकेको छैन । वास्तविक पीडितको स्पष्ट तथ्यांक संकलन हुन नसक्दा पीडितको नाममा अन्यले भकाभक राहत लिने गरेका हुन् । पक्की घरवालाले पीडितको नाममा राहत सामग्री बुझेर घरका कोठामा लगेर थुपारेको पाइएको छ ।
क्षति नभएका कैयौं परिवारका सदस्यहरू क्षतिग्रस्त घरमा बसेर सक्कली पीडितको नाममा नक्कली पीडित बन्दै राहत थाप्ने काम गरेकाले राहत व्यवस्थापनमा ठूलो समस्या देखिएको गृह मन्त्रालयले जनाएको छ । घाइतेका आफन्त अस्पतालमा रहेका तथा मृतकका आफन्त शोक र अन्तिम संस्कारमा रहेको अवस्थामा उनीहरूको नाममा समेत नक्कली पीडित बनेर राहत लिनेको संख्या पनि धेरै रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राहत वितरणमा स्थानीय सरकारसँग सहकार्य गरेर राहत बाँड्ने निर्णय गरेको भए पनि सहयोगी निकायले आफूखुसी राहत वितरण गर्दा समस्या भइरहेको छ । गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा स्तरीय पालको अभाव देखिएको छ । पहिलो चरणमा बाँडिएका पालभन्दा स्तरीय पालको माग पीडितले गरिरहेका छन् । विपतलगत्तै बाँडिएका पाल कमसल रहेको बताइएको छ । स्थायी बसोबासको व्यवस्थापन टुंगो नलागेसम्म पीडितको बासस्थान अनिश्चित समयका लागि पालमुनि नै हुने निश्चित देखिएको छ ।
राजधानीबाट































प्रतिक्रिया