हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा द्रुत प्रतिकार्य टोली परिचालन, १४४ अस्पतालहरूमा निगरानी

हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा द्रुत प्रतिकार्य टोली परिचालन, १४४ अस्पतालहरूमा निगरानी

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाउँदै आएको छ। मन्त्रालयले प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँग सहकार्य र समन्वयमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ ।

प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी, र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको छ। यससँगै, स्वास्थ्य शिक्षाका सामाग्रीहरू तयार पारेर प्रसारण गरिरहेको छ ।

हैजाको निगरानीका सन्दर्भमा, देशभरका १४४ अस्पतालहरूमा झाडापखालाका बिरामीहरूको नियमित रूपमा हैजाको निगरानी भइरहेको छ । जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धी कार्य प्रभावकारी रूपमा भइरहेको छ । साथै, एउटै टोलबाट एक हप्ताभित्रमा ५ जना भन्दा बढी झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्ब र १११५ मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था गरेको छ ।

जनचेतना र सरसफाइ सम्बन्धी क्रियाकलापमा, बिरामी देखिएका स्थानहरूमा खानेपानीको नमुना जाँच कार्य गरिरहेको छ । साथै, खानेपानीको शुद्धीकरण तथा व्यक्तिगत सरसफाइ सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

सचेतना गतिविधिहरूलाई थप प्रभावकारी बनाउन मन्त्रालयले फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा हैजासँग सम्बन्धित सन्देशहरूको नियमित प्रसारण गरिरहेको छ । काठमाडौँ महानगरपालिका, वडा नम्बर ११, १२, र १३ का निर्वाचित सदस्यहरू, समुदायको विपद् व्यवस्थापन समिति, तथा युवाहरू र महिला समूहहरूलाई हैजा रोकथाम र नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

साथै, विज्ञ सम्मिलित छलफल बैठक सञ्चालन गरी केस र खानेपानी निगरानी, केस व्यवस्थापन, र रोकथाम तथा नियन्त्रणका क्रियाकलापहरूलाई थप प्रभावकारी बनाउन थप निर्देशन दिएको छ।

गोदावरी नगरपालिकामा, पुनर्स्थापना केन्द्रका सदस्यहरूका लागि ब्लीचिङ पाउडर र परीक्षण विधिहरू प्रयोग गरेर समाधानको तयारीको प्रदर्शन गरेको छ । यसैगरी, आवश्यक घरपरिवारहरूमा पियुष प्लस पनि प्रदान गरेको छ । ललितपुर महानगरपालिकामा, हैजाका केसहरू पत्ता लागेपछि समुदायका सदस्यहरूलाई हात सफाइ र पानीको गुणस्तर परीक्षणको सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ । टेकु, काठमाडौँ महानगरपालिकामा पनि क्लोरिनेसन र सफाइ अभ्यासहरूको बारेमा आवश्यक जानकारी प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी योजनामा केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाइ खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायहरू सँगको समन्वयमा जोखिम पहिचान तथा रोकथाम सम्बन्धी कार्यहरू अघि बढाउने योजना बनाएको छ । यससँगै, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढीकरणका लागि सरोकारवाला निकायहरू बीच एकीकृत समन्वय तथा सहकार्य गरिरहेको छ ।

Skip This
Skip This
Logo