नेपाल विद्युत प्राधिकरणले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिमा डेटिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेको उद्योगहरुको टीओडी मिटरको विवरण पेस गरेको छ । प्राधिकरणले सेतो कपडामा बेरेको टीओडी मिटरको लगसिट २४ पोकासहित ३० पोका र २ इन्डेक्स फाइल लेखा समितिमा पेस गरेको हो ।
सोमबारको लेखा समिति बैठकले प्राधिकरणसँग टिओडी मिटरको विवरण तीन दिनभित्र पठाउन आग्रह गरेपछि बिहीबार ५० हजारभन्दा धेरै पेजको विवरण पेस गरेको हो ।
२०७२ देखि २०७७ सम्मको लोडसेडिङको समयमा उद्योगहरूलाई अतिरिक्त विद्युत उपलब्ध गराइएको भन्दै प्राधिकरणले गत असार १० गते ६१ उद्योगलाई पेनाल्टीसहित ८ अर्बभन्दा बढीको बिल काटेको थियो । उद्योगीहरूले आफूले विशेष सुविधा नलिएको र लिएको भए त्यसको प्रमाण दिन प्राधिकरणलाई चुनौती दिएका थिए । त्यसलगत्तै ६ उद्योगमा लाइन काटियो । लाइन जोड्न नमान्दा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै हटाउने हो की भन्ने आशंका पनि उब्जिए र अझै पनि छ । साथै प्राधिकरणको सञ्चालक समितिमा उद्योगको लाइन जोड्न हुँदैन भनेर फरक मत राख्ने दुई सञ्चालकलाई हटाइयो । यो विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय आयोग नै गठन गरेको छ । तर, प्राधिकरणले विभिन्न समयमा अदालतमा पठाएको पत्रमा टीओडी मिटरको तथ्यांक मेटिएको बताउँदै आएपनि आज एकाएक ३० पोका फाइल लेखा समितिमा पेस गरेपछि सबै अचम्मित परेका छन् ।































प्रतिक्रिया