काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा बालबालिकाको जनसंख्या घटेको छ । कार्यालयको तथ्यांकअनुसार २०६८ देखि २०७८ को अवधिमा १७ वर्षभन्दा कम उमेर भएका बालबालिकाको जनसंख्या १२ लाख १४ हजार ७२८ जनाले घटेको हो ।
यो भनेको १.१ प्रतिशतले घटेको हो । २०६८ सालको जनगणनामा एक करोड १० लाख ८४ हजार ३११ जना बालबालिका रहेका थिए । तर २०७८ मा आएर बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५८३ रहेको छ ।
कम बच्चा जन्माउने परिवार बढेको, पहिले उमेर नपुगी बिहे गर्ने र उमेर नपुगी बच्चा जन्माउने गरेकोमा अहिले यसको प्रतिशत घटेकाले बालबालिकाको संख्या घटेको बताइएको छ ।
२०६८ को जनगणनाअनुसार १७ वर्षभन्दा कम उमेर समूहको जनसंख्या प्रतिशत ४१ रहेकामा २०७८ आएर यो ३३.८३ प्रतिशतमा झरेको छ ।
कर्णालीको जनसंख्यामा ६.८ प्रतिशत बालक र ७ प्रतिशत बालिका छन् । त्यस्तै, गण्डकीको जनसंख्यामा ७.५ प्रतिशत बालक र ७.३ प्रतिशत बालिकाको संख्या छ । मधेस प्रदेशमा २४.५ प्रतिशत बालक र २४.१ प्रतिशत बालिका गरी बालबालिकाको संख्या ४८.६ प्रतिशत छ ।
कोशीमा १५.७ प्रतिशत बालक र १६.२ प्रतिशत बालिका, बागमतीमा १७.३ प्रतिशत बालक र १६.९ प्रतिशत बालिका, लुम्बिनीमा १८ प्रतिशत बालक र १८.२ प्रतिशत बालिका छन् भने सुदूरपश्चिममा १०.२ प्रतिशत बालक र बालिका १०.४ प्रतिशत छन् ।





























प्रतिक्रिया