काठमाडौं ।
यस वर्षको पूर्वाधार निर्माणको सिजन शुरु भएको छ । यतिबेला गाँउघरदेखि शहर बजारमा निर्माण सामग्री व्यवसायको निकै ठूलो चहलपहल देखिन थालेको छ । ग्रामिण क्षेत्रदेखि शहरका सडकहरुमा समेत निर्माण सामग्री ओसारपसार गर्ने सवारी साधनहरुको चाप बढेको देखिन्छ ।
तर, पूर्वाधार निर्माणको सिजन शुरु भएसँगै बजारमा निर्माण सामग्रीको मूल्य भने अत्यधिक रुपमा बढेको छ । निर्माण सामग्रीको मूल्यवृद्धिको प्रत्यक्ष असर आम उपभोक्तामा पर्न थालेको छ । आम उपभोक्ताले कोरोना महामारी सहज होला र निर्माण सामग्रीको मूल्य पनि घट्ला भन्ने आशा गरेका थिए ।
यतिबेला कोरोना भाइरसको महामारीले शिथिल बनेको निर्माण व्यवसायमा पनि चहलपहल वढेको छ । महामारीका कारण अधिकांश पूर्वाधार निर्माणका कामहरु जस्तै, घर निर्माणदेखि अन्य ठूला साना आयोजना रोकिएका थिए । कोरोनाले गर्दा रोकिएका घर तथा आयोजनाहरु निर्माणका काम शुरु भएका छन् । यसरी निर्माण व्यावसाय शुरु भएसँगै पूर्वाधार निर्माणका लागि अतिआवश्यक सामग्री गिट्टी, बालुवा, फलामे छड र डण्डीको अत्यधिक मूल्य वढेको छ । यद्यपि सिमेण्टको मूल्य भने घट्दै गएको छ ।
पूर्वाधार निर्माणका लागि मंसिरदेखि जेठसम्मलाई ‘पूर्वाधार निर्माणको पिक’ सिजन मानिन्छ । निर्माणको सिजनको शुरु भए लगतै अत्यावश्यक निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीहरू तथा उपभोक्ताहरु चिन्तित बन्न थालेका छन् ।
पछिल्लो पटक सरकारले देशैभरि अवैध रुपमा उत्खनन् भएका गिट्टी, बालुवा रोक लगाउने निर्णय गरेकाले बजारमा गिट्टी, बालुवाको अभाव हुँदै गएकाले बजारमा निर्माण सामग्रीको मूल्य बढ्न थालेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले बताएका छन् ।
उनका अनुसार बजारमा यस्ता सामग्री पाए पनि पहिलेको भन्दा मूल्यवृद्धि भएको छ । एक महिना अगाडि एक टिपरको २०/२२ हजार पर्ने गिट्टी, वालुवा अहिले ३० हजारसम्म पर्ने गरेको छ । खपत बढी हुने सिजनमा नै गिट्टी, बालुवा अभाव शुरू हुन थालेको तथा बजारमा माग अनुसार आपूर्ति नहुँदा मूल्य पनि वृद्धि भएको उनको भनाइ छ ।
यता निर्माण व्यवसायी महासंघले प्रेस विज्ञप्ति जारी गरि सरकारको निर्णयपछि डन्डीको मूल्य प्रतिकेजी १५ देखि २० सम्म वृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर वृद्धि भएको उल्लेख गरेको छ । त्यस्तै, फलामे छडको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढिरहेकाले नेपालमा पनि यसको मूल्य बढेको छ ।































प्रतिक्रिया