जापानका चर्चित फुटबलर केसुके होण्डा नेपालमा

जापानका चर्चित फुटबलर केसुके होण्डा नेपालमा

केन्द्रबिन्दु
75
Shares

काठमाडौँ । जापानका चर्चित फुटबलर केसुके होण्डा नेपाल आएका छन् । तीनपटक फिफा विश्वकप खेलेका होण्डा एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न नेपाल आएका हुन् ।

होण्डासहित भुटानको पारो फुटबल क्लब शनिवार नेपाल आइपुगेको हो । उनी सम्मिलित भुटानी टोलीले नेपालको चर्च ब्वाइज युनाइटेडसँग खेल्ने बताइएको छ । उनी यसै वर्ष भुटानी क्लब पारोमा आबद्ध भएका हुन् ।

काठमाडौँको दशरथ रङ्गशालामा आउने मङ्गलवार उनी सम्मिलित भुटानी टोलीले साँझ ६ बजे प्रतिस्पर्धा गर्दै छ । सन् २०११ मा जापानले एसियन कप जित्दा महत्त्वपूर्ण खेलाडी रहेका होण्डाले सन् २००८ देखि २०१८ सम्म जापानको राष्ट्रिय टोलीका लागि ३७ गोल गरेका छन् । उनले कम्बोडियाको राष्ट्रिय टिम र यू-२३ टिमको प्रशिक्षक समेत सम्हालिसकेका छन् ।

होण्डाले इटलीको चर्चित क्लब एसी मिलान, रसियन क्लब सिएसकेए मस्को जस्ता क्लबबाट व्यवसायिक फुटबल खेलेका छन् । चर्च ब्वाइजको टोलीमा कप्तान अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, लकेन लिम्बु, सनिश श्रेष्ठ र दीप कार्की लगायत खेलाडी छन् । चर्च ब्वाइजले ए डिभिजन लिगको उपाधि जितेको थियो ।

Logo