एनसीएल महिला टी–२० क्रिकेट लिगका लागि भएको अक्सन सकिएको छ । आइतबार भएको अक्सनमा चार टिमले १३–१३ खेलाडी आफ्नो टिममा भित्र्याएका हुन्। यसअघि ४ खेलाडी मार्की खेलाडीको रुपमा भित्रिएका थिए।
पहिलो श्रेणीका सबै खेलाडी तोकिएको सर्वाधिक रकम ७५-७५ हजार रुपैयाँमा आबद्ध भएका छन । दोस्रो श्रेणीमा रहेका खेलाडीका लागि ५० हजार र तेस्रो श्रेणीमा रहेकाका लागि २५ हजार अधिकतम रुपैयाँ खर्च गर्न पाईने थियो । ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना खेलाडी थिए ।
अभिनेत्री रेखा थापाको स्वामित्वमा रहेको काठमाडौं सुपर च्याम्पियन्समा तीन जना खेलाडी महँगा खेलाडीको रुपमा भित्रिएका छन्। राष्ट्रिय टिमकी अलराउन्डर नेरी थापा मार्की खेलाडी रहेको काठमाडौंले ममता चौधरी, सरिता मगर र रोमा थापालाई आबद्ध गरेका हो।
भैरहवा क्विजले सोनु खड्का, इन्दु बर्मा र बिन्दु रावल, विराटनगर रोरिङ लायोनेसले काजोल श्रेष्ठ र अप्सरी बेगम, धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योती पाण्डेलाई सर्वाधिक ७५ हजार रुपैयाँमा अनुबन्ध गरेका छन् ।
धनगढीले सवनम राईलाई ७० हजार, विराटनगरले रिता कुमारी कनौजियालाई ६५ हजार रुपैयाँमा किनेका छन् । भैरहवाले कविता जनोशी र रश्मी शर्मा चौलागाईं, विराटनगरले अञ्जली चन्द, धनगढीले रेखा रावल, काठमाडौंले सुमन खतिवडा, रावती धामी, सुमन विस्ट र मञ्जु कुमारी चौधरीका लागि ५०/५० हजार रुपैयाँ खर्चिएका छन् । भैरहवामा रुबिना क्षेत्री, विराटनगरमा करुणा भण्डारी, धनगढीमा सिता राना मगर मार्की खेलाडीका रुपमा रहेका थिए ।
अक्सनमा ५ लाख ७० हजार रुपैयाँ खर्च गर्दै काठमाडौं धेरै खर्च गरेर खेलाडी अनुबन्ध गर्ने टिम बनेको छ । भैरहवाले ५ लाख ५० हजार, विराटनगरले ५ लाख २० हजार र धनगढीले ५ लाख ५ हजार रुपैयाँ खर्च गरेका छन् । एउटा टिमले अधिकतम ६ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो ।
प्रतियोगिता आउँदो वैशाख ७ गतेदेखि १४ गतेसम्म विराटनगरमा हुँदैछ । यो प्रतियोगीताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।





























प्रतिक्रिया