काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कले विदेशी मुद्रा सञ्चिति साढे २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको देखाएको छ । आइतबार सार्वजनिक उक्त विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।
उक्त सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भई २०८१ असार मसान्तमा १० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० को असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असारसम्ममा ३०.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २७ करोड कायम पनि राष्ट्र बैंकले बताएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । २०८१ असार मसान्तमा सो सञ्चिति ३७.४ प्रतिशतले वृद्धि भई १८खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ अर्ब ९३ अर्ब ५९ करोड रहेको थियो । उक्त विनिमय सञ्चिति गत आर्थिक वर्ष ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
२०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राकोअंश २२.५ प्रतिशत रहेको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।
२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५प्रतिशत रहेका थिए ।































प्रतिक्रिया