जोन्स हस्पिटलमा फोटोसेसन, जी वेल्ससँग ह्याण्डसेक

जोन्स हस्पिटलमा फोटोसेसन, जी वेल्ससँग ह्याण्डसेक

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत चैत ३ गते पत्नीसहित अमेरिका प्रस्थान गरे । प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पीएसपी)को उपचारका लागि पत्नी सीता दाहाललाई लिएर प्रचण्ड अमेरिका पुगेका थिए ।

‘अमेरिका गएपछि केही ठीक हुन्थ्यो कि भनेर उनले सारै जिद्दी गर्न थालेपछि मलाई पनि मनोवैज्ञानिक रुपमा एक पटक पुगौँ भन्ने लाग्यो’ त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा प्रचण्डले भनेका थिए । उनी स्वकीय सचिव तथा छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्यसहित इतिहाद एयरवेजमार्फत अमेरिका उडेका थिए ।

जहाजमा सवार प्रचण्डको तस्विर त्यही दिन भाइरल बनेको थियो । यही तस्विर सामाजिक सञ्जालमा पोष्ट्याउँदै कतिपयले स्वास्थ्य लाभको कामना गरेका थिए भने कतिपयले ‘कोही त भने जहाजमा सरर…’ भनेर ब्यंग्य कसेका थिए । सीताको स्वास्थ्य उपचार र बन्दोबस्तीको ब्यवस्था अमेरिकास्थित नेपाली राजदूतावासले गरेको थियो ।

उजुरी र ‘नो इन्भेष्टिगेसन सर्कुलर’

अमेरिका पुगेपछि प्रचण्ड झनै भाइरल भए । प्रचण्ड परिवारले जोन्स हप्किन्स आउटप्यासेन्ट सेन्टरको अगाडि खिचेको तस्विर सामाजिक सञ्जालमा भाइरल बन्यो । यो तस्विरलाई कतिपयले हस्पिटल पुगेको प्रमाण भन्दै ब्यंग्य कसे भने कतिपयले स्वास्थ्य लाभको कामना गरे । अमेरिका पुगेको तेश्रो दिनमा प्रचण्ड फेरि भाइरल बने । अमेरिकामा रहेका दाहालविरुद्ध डा. तिलक श्रेष्ठले उजुरी दिएका थिए । श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान ब्युरोलाई सम्बोधन गर्दै लेखेको पत्र एकाएक भाइरल बन्यो । ‘एकजना चर्चित आतंककारी प्रचण्ड यो साता जोन हप्किन हस्पतालमा श्रीमतीको उपचारका क्रममा आएका छन्,’ उजुरी पत्रमा लेखिएको थियो ।

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा सन् २०१६ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन अमेरिका जाने योजना बनेको थियो । तर अन्तिम समयमा आएर उनको भ्रमण स्थगित भएको थियो ।

त्यस्तै सोही बर्ष उनले अस्ट्रेलियाको भ्रमण पनि स्थगित गरेका थिए । अमेरिका जानका लागि पटक पटक अवसर आउँदा पनि प्रचण्डले इन्कार गर्दै आएका थिए । पछिल्लो पटक अमेरिका जान लगभग अन्तिम तयारी गरिरहँदा उनले भनेजुयलाको विषयमा टिप्पणी गरे । जसले गर्दा उनको तोकिएको भ्रमण समेत स्थागित भएको थियो ।

त्यसपछि अमेरिकी दुतावासले भ्रमण गर्न सुझाएपछि मात्रै उनी अमेरिका प्रस्थान गरेका थिए । उनीविरुद्ध उजुरी परेको विषयले नेपालमा तहल्का मच्चाए पनि प्रचण्ड भने ‘त्यस्तो उजुरीले केही फरक पर्दैन’ भन्नेमा ढुक्क थिए ।

नभन्दै सोही दिन बेलुका अमेरिकाले प्रचण्डको विषयमा कुनै छानविन नहुने भनेर ‘नो इन्भेष्टिगेसन सर्कुलर’ जारी गरेको समाचारहरु बाहिर आयो । यो खबरले नेकपानिकट नेता कार्यकर्ता र प्रचण्डका शुभेच्छुकहरुले ठूलै राहतको अनुभूति गरे । तर, अनौठो के भने यस्तो खालको सर्कुलर कसले जारी गर्याे भन्ने कतै भेटिएको छैन ।

को को सँग भेटघाट ?

अमेरिकामा प्रचण्डलाई नेपाली राजदूत डा. अर्जुन कार्कीले स्वागत गरेका थिए । प्रचण्डको स्वागतका लागि राजदूत कार्कीले दूतावासमा स्वागत कार्यक्रम समेत आयोजना गरेका थिए । उक्त कार्यक्रममा सहभागि भए पश्चात नवौ दिनमा मात्र प्रचण्ड सार्वजनिक भए । यसबीचमा प्रचण्डको नाम कुनै पनि मिडियामा आएन ।

प्रचण्डले सोमवार बिहान अमेरिकी विदेश मन्त्रालयकी एक अधिकारीसंग भेट गरेका थिए । ति हुन् एलिस जी वेल्स । उनलाई भेट्न प्रचण्ड विदेश मन्त्रालय नै पुगेका थिए । भेटमा के कुरा भयो भन्ने बारेमा अहिलेसम्म कुनै कुरा बाहिर आएको छैन ।

प्रचण्डले यतिधेरै महत्व दिएका वेल्स को हुन् त ? सन् १९६३ मा लेबनानको बेरुतमा जन्मेकी वेल्सले सन् २०१७ को जुन २६ देखि दक्षिण र मध्य एशिया मामिला सम्बन्धी प्रमुख उपसहायक विदेशमन्त्रीको काम गरिरहेकी छिन् । करियर डिप्लोम्याटका रुपमा चिनिने उनी यसअघि जोर्डनका लागि अमेरिकी राजदूत रहेकी थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई त्यहाँबाट फिर्ता बोलाएका थिए । त्यसपछि उनलाई अहिलेको जिम्मेवारी दिइएको हो । यसअघि उनले अमेरिकी विदेश मन्त्रालयमा नियर इस्टर्न ब्यूरोमा वरिष्ठ सल्लाहकार तथा मध्य एशिया र रसिया मामिलामा तत्कालीन राष्ट्रपतिका लागि विशेष सहायकका रुपमा सन् २०१२ देखि २०१३ सम्म काम गरेकी थिइन् । उनले तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकारी सहायकका रुपमा समेत काम गरेकी थिइन् । त्यस्तै उनले राजनीतिक मामिला सम्बन्धी उपसचिव विलियम जे बर्नस्को कार्यकारी सहायकको रुपमा पनि काम गरेकी थिइन् । त्यस्तै मस्कोमा रहेको अमेरिकी दूतावासमा राजनीतिक मामिला सम्बन्धी मिनिस्टर काउन्सिलरको रुपमा उनले काम गरेकी थिइन् । त्यसैगरी उनले भारतको नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमा राजनीतिक मामिला हेर्ने अधिकृत तथा पाकिस्तानको इश्लामावाद र साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा पनि काम गरीसकेकी छिन् ।

सोमबार नै प्रचण्डले नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसीसँग पनि भेटघाट गरेका थिए । त्यसैगरी सोमबार नै प्रचण्डले मेरिल्याण्ड राज्यको प्रदेश संसदको पनि अवलोकन गरेका थिए । त्यहाँ नेपाली मुलका मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले प्रचण्डलाई स्वागत गरेका थिए ।

स्मरणहोस् प्रचण्डले अमेरिका उड्न लाग्दा विमानस्थलमा ठूलै नेतालाई भेट्ने आशय व्यक्त गरेका थिए । विभिन्न सञ्चारमाध्यमहरुले पनि प्रचण्डले अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग भेटघाट गर्ने लेखेका थिए । तर, अहिलेसम्म भेटघाटको कुनै टुंगो लागेको छैन । जबकी प्रचण्ड आजै स्वदेश फर्कने तयारीमा छन् ।

प्रचण्डको अहिलेसम्मको विदेश भ्रमण

प्रधानमन्त्री बनेपछि प्रचण्डले २००८ को अगस्टमा चीन भ्रमणमा गरेका थिए । त्यसबेला उनी बेइजिङ ओलिम्पिकको समापन समारोहमा भाग लिन चीन पुगेका थिए । त्यसबेला नेपालका प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गरेको भनेर चर्चा भएको थियो ।

त्यसपछि उनले आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने भन्दै अभिव्यक्ति दिएका थिए। जुन निकै विवादित बनेको थियो । त्यस्तै गरी सोही बर्षको सेप्टेम्वरमा प्रचण्डले पाँच दिने भारत भ्रमण गरेका थिए। त्यसैगरी सोही बर्ष संयुक्त राष्ट्रसंघको ६३ औँ महासभामा सहभागी हुन अमेरिका पुगेका थिए । त्यसबेला उनले तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशसँग भेटघाट गरेका थिए । त्यस्तै प्रचण्डले सन् २००९ को अप्रिलमा फिनल्यान्डको भ्रमण गरेका थिए । सोही क्रममा उनी नर्वे पनि पुगेका थिए ।

त्यस्तै सन् २०११ को मे महिनामा पनि चिनियाँ संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी थाईल्यान्ड पुगेका थिए । त्यस्तै गरी सन् २०१३ मा उनले चार दिने भारत भ्रमण गरेका थिए । त्यस्तै सन् २०१६ को जनवरीमा दुईपटक थाइल्याण्ड पुगेका थिए । त्यस्तै गरी सन् २०१६ मा ब्रिक्स सम्मेलनमा भाग लिन भारत पुगेका थिए । त्यस्तै सन् २०१७ को जनवरीमा वल्र्ड फ्युचर इनर्जी सम्मेलनमा भाग लिन प्रचण्ड युनाइटेड अरब इमिरेट्स पुगेका थिए ।

त्यस्तै सोही बर्षको मार्चमा बोआओ सम्मेलनमा भाग लिन चीनको हाइनान प्रान्त पुगेका थिए । त्यस्तै सोही बर्ष नै जुलाईमा पत्नी सीता दाहालको उपचारकालागि थाईल्याण्ड पुगेका थिए । त्यस्तै २०१८ को सेप्टेम्वरमा पत्नी सीताकै थप स्वास्थ्य परिक्षणका लागि सिंगापुर पुगेका थिए । त्यसपछि उनले भारत र चीनको भ्रमण गरेका थिए ।

Logo