काठमाडौँ
निर्वाचन आयोग आईतबारदेखि प्रमुख विहीन भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको ६ वर्षे पदावधि सकिएपछि आयोग प्रमुख बिहीन बनेको हो । उहाँसंगै निर्वाचन आयुक्त इला शर्माले पनि अवकास पाउनु भएको छ । संविधान बमोजिम आयोगका पदाधिकारीको कार्यकाल ६ वर्ष रहने ब्यवस्था छ ।
आइतबार एक समारोहकाबीच प्रमुख निर्वाचन आयुक्त डा. यादव र आयुक्त शर्माको बिदाई गरिएको थियो । डा. यादव २०६३ सालमा निर्वाचन आयुक्तमा नियुक्त हुनुभएको थियो । त्यसैगरी उहाँ पुन २०६९ सालमा निर्वाचन आयुक्तको पदमा नियुक्त हुनुभएको थियो । २०७२ मंसिरमा उहाँलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गरिएको थियो । आयोगको ६७ वर्षको इतिहासमा आयोगभित्रैबाट प्रमुख निर्वाचन आयुक्त हुने उहाँ तेस्रो व्यक्ति हुनुहुन्थ्यो ।
२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचन र २०७० मा भएको संविधानसभा दोस्रो निर्वाचनमा निर्वाचन आयुक्तको रुपमा डा यादवले भूमिका निर्वाह गर्नुभएको थियो । प्रमुख निर्वाचन आयुुक्तको रुपमा उहाँले पहिलो पटक भएकोे संघ, प्रदेश, स्थानीय तह, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
डा.यादव र शर्माको बिदाईपछि अहिले आयोगमा तीन जना मात्र सदस्य बाँकी रहेका छन् । आयोगमा नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल, र सुधीरकुमार शाह हुनुहुन्छ । वरिष्ठताका आधारमा नरेन्द्र दाहाल प्रमुख आयुक्तको दावेदार हुनुहुन्छ । प्रमुख आयुक्त बन्ने दौडमा अवकास पाउन लागेका सचिवहरू ले लविङ तीव्र बनाएका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया