राजनीतिमा क्षमतावान र पढेलेखेका मान्छे चाहिन्छः डा बाबुराम भट्टराई

राजनीतिमा क्षमतावान र पढेलेखेका मान्छे चाहिन्छः डा बाबुराम भट्टराई

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताएका छन् ।

काठमाडौँमा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ को लोकार्पण समारोहमा बोल्दै उनले नेपालमा शक्ति राष्ट्रहरूले खेल्ने गरेको स्वीकार गर्दै देशमा क्षमतावान नेतृत्व भए कुनै समस्या नहुने बताए । उनले नेपाल जटिल भूराजनीतिक देश भएकाले धेरै शक्तिले खेल्ने कोशिश गर्ने बताउँदै त्यसलाई दोष दिनुभन्दा राजनीतिमा पढेका मान्छे भित्र्याउन सके मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिने बताए ।

उनले सादगी र नैतिकवान, मान्छेहरू राजनीतिमा आउनैपर्नेमा जोड दिए । अध्यक्ष डा भट्टराईले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई अघि बढाउनका लागि पनि नैतिक र इमान्दार राजनीतिज्ञको खाँचो रहेको औँल्याए । आत्मकथाले डा राउतको जीवन सङ्घर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको डा भट्टराईले बताए । उनले भने, “कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सिकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ । किताबमा सिकेजीको मात्रै संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौँदेखि गरेको फेहरिस्त समेटिएको छ ।” डा भट्टराईले जीवनमा चुनौतीलाई पार गर्दै अघि बढ्न यो किताब विशेषगरी युवापुस्ताले पढ्नुपर्ने पनि बताए ।

कार्यक्रममा लेखक तथा जनमत पार्टीका अध्यक्ष डा राउतले मधेसीहरूलाई नेपाली भन्ने तर मधेसीको पहिचान बन्न नदिने कुरा गलत भएको बताए । समारोहमा डा राउतले मधेस आफ्नो पहिचान हो भने किन पहिचान नपाएको भनेर गुनासो पनि गरे । उनले कुनै पनि ठाउँका लागि पहिलो कुरा पहिचान भएको समेत दाबी गरे । उनले मधेसीलाई पहिचान दिन नखोज्नु गलत हो भने।

अध्यक्ष रावतले भने, “पढाइ सकाएर अध्यापनमा रहँदासमेत हेपिएको, उत्कृष्ट अङ्क ल्याएर राजाबाट महेन्द्र विद्या भूषण पाउँदा दौरासुरुवाल नलगाइ जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउँछ । वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान कसरी बन्न पुगेँ भन्ने रुचिकर कथा यस पुस्तकमा छन् ।”

आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा राउतले बताए । समाज उन्नतिका लागि तत्कालमा राजनीति गरे पनि दीर्घकालीन बोध अध्यात्म रहेको उनले बताए । जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दासम्मका डा राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो । यसको पाठक मूल्य पातलो गाता रु पाँच सय ९९ र मोटो गाता रु सात सय ९९ रुपैयाँ रहेको छ ।

Skip This
Skip This
Logo