हिउँदे अधिवेशन टुंग्याउने तयारी

हिउँदे अधिवेशन टुंग्याउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

वैदेशिक लगानी सम्बन्धी विधेयकहरू पारित भएपछि संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । एक महिनापछि वर्षे अधिवेशन बस्नुपर्ने समयसीमाका कारण केही दिनभित्रै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको सरकारी अधिकारीले बताए।

फागुन अन्तिममै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी भएका बेला सरकारले लगानी सम्मेलन केन्द्रित दुईवटा विधेयक दर्ता गरेपछि हिउँदे अधिवेशन लम्बिएको थियो। संविधानसँग बाझिएका कानुनमा संशोधन र परिमार्जन गर्ने काम संघीय संसद्ले फागुन २१ भित्रै सम्पन्न गरेको थियो।

वैदेशिक लगानी आकर्षित गर्न भन्दै सरकारले चैत १५ र १६ गते राजधानीमा वैदेशिक लगानी सम्मेलन आयोजना गरेको छ। विदेशी लगानी भित्रयाउन, लगानीका क्षेत्रको जानकारी दिन र वैदेशिक लगानीमा सेवा, सुविधाबारे जानकारी दिने उद्देश्यले सरकारले सम्मेलन आयोजना गर्न लागेको जनाएको छ।

प्रतिनिधिसभाले पारित गरी पठाएका दुवै विधेयक राष्ट्रियसभाले पनि पारित गरेको छ। यी विधेयक राष्ट्रियसभाले पारित गरेको सूचना आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा गराइनेछ र त्यसपछि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइने संसद् सचिवालय स्रोतले बताएको छ। ‘सरकार अब लगानी सम्मेलनको तयारीमा जुटनुपर्ने अवस्था छ’, कानुनमन्त्री भानुभक्त ढकालले  भने, ‘मुख्य काम सम्पन्न भइसकेकाले केही दिनभित्रै अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको छ।’ सभामुख कृष्णबहादुर महराले आइतबार नै अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिएका छन् ।

अन्नपूर्ण

Logo