धादिङ
धादिङ प्रहरीले पृथ्वी राजमार्गस्थित गजुरी गाउँपालिका १ गजुरी बजारबाट शुक्रबार बिहान एक सय ६४ किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश मरेठ जिल्ला मरेठसिटी लिसारी गेटथाना बस्ने २३ वर्षीय मौ महताव छन् । काठमाडौँमा सामान छाडेर भारतको मजहफपुर नगर सामली उत्तरप्रदेश जाँदै गरेको यूपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक जाँचका क्रममा इलाका प्रहरी कार्यालय गजुरीले शुक्रबार बिहान चरेस फेला पारेको हो । ट्रकको क्याबिनको माथिल्लो भागमा आठ वटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो।
राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसार चुनौती बनेको छ । खासगरी भारतीय कन्टेनरहरु र भारतीय नागरिकहरु बढी पक्राउ पर्ने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।
पृथ्वी राजमार्गको नाका हुँदै भारतीय कन्टेनरको क्याबिनमा लुकाई लागुऔषध लैजाने गरेका छन’, प्रहरी निरीक्षक ढुंगेलले भने, ‘सामान्य खालका लागुऔषधदेखि ठूला मात्रामा भेटिने गरेको छ, सामान लिएर नेपालमा आउने र फर्कदाँ लागुऔषध लैजाने गरेका छन् ।’
भारतीय लागुऔषध कारोबारीले नेपाललाई लागुऔषध कारोबारको ‘हब’ बनाएका छन् । लागुऔषध कारोबारमा पक्राउ पर्ने मध्ये अधिकांश भारतीय कन्टेनर र भारतीय नागरिक हुने गरेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले पनि भारतीय लागुऔषध कारोबारीको मुख्य बजार काठमाडौं उपत्यकालाई मानेको छ । काठमाडौँमा सामान पु¥याउने र फर्कंदा लागुऔषध लिएर भारत जाने गरेका छन् । यसरी भारत लैजाँदै गरेको लागुऔषध प्रहरीको फन्दामा पर्ने गरेका छन् भने केही सीधै भारतमै पुग्ने गरेको छ ।
धादिङका डीएसपी प्रकाश विष्टका अनुसार लागुऔषध कारोबारमा अधिकांश भारतीय नागरिक पक्राउ पर्नुले नेपाल उनीहरूका लागि लागुऔषध कारोबार गर्ने उपयुक्त बजार रहेको पुष्टि हुने बताए । ‘पक्राउ पर्ने मध्ये अधिकांश भारतीय छन्’, डीएसपी विष्टले भने, ‘लागुऔषध बेच्ने उपयुक्त मार्केटका रूपमा नेपाललाई विकास गर्न लागेको यी घटनाले पुष्टि गर्छ, यसतर्फ प्रहरी सचेत छ ।’ कुनै कुनै घटनामा भने लागुऔषध कारोबारी गर्ने तस्कर उम्कने र भरिया मात्र समातिने गरेको उनले बताए ।
नागरिकबाट































प्रतिक्रिया